२०८१ बैशाख २४ सोमबार

एमाले धादिङको विवाद समाधान गर्न संगठन विभागले दुई नेता पठाउने

काठमाडौं । नेकपा (एमाले) धादिङको जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना नेता खटाउने भएको छ ।

नवौं जिल्ला अधिवेशनमा विवाद सिर्जना भएर अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो देखाएका थिए । उनले अध्यक्ष मण्डलसहित ८ जना नेतालाई काठमाडौं बोलाएका थिए ।

आइतवार राति १ बजेसम्म अध्यक्ष ओली निवास बालकोटमा छलफल भएको र विवाद समाधानका लागि संगठन विभागले दुई जना खटाउने निर्णय भएको एमाले बागमती प्रदेश सचिव नवराज सिलवालले जानकारी दिए ।

संगठन विभागले प्रतिनिधि मनोनीत, अध्यक्ष मण्डल गठनको विवाद निरूपण गर्ने र मंगलवारबाट बन्दसत्र सुरू गर्ने समझदारी जुटेको सिलवालले बताए । संगठन विभागले पठाउने नेता भने तय भइनसकेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनीसहितका नेतालाई काठमाडौं बोलाएका थिए ।

त्यस्तै, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मिनराज कँडेलसहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएका थिए ।

शुक्रवारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै विवाद भएको थियो । निवर्तमान कमिटीले देवकोटालाई बनाएको थियो । जिल्ला अधिवेशनमा अध्यक्ष ओली समूहकै दुई गुटको लडाइँ देखिएको छ ।

निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन् । उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता खनालको हात भाँच्चिएको थियो ।

धादिङमा भूमि त्रिपाठीको समूह बलियो छ । निवर्तमान कमिटीका तीन पदाधिकारीसहित अधिकांश सदस्य त्रिपाठीको पक्षमा उभिएपछि परिणाम आफ्नो पक्षमा पार्न अधिकारी समूह लागिपरेको एक नेताले बताए ।

उनका अनुसार अधिकारीका पक्षमा बागमती प्रदेश इन्चार्ज गुरू बराल, सिन्धुली इन्चार्ज खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, बागमती प्रदेश कमिटी सदस्य रमेश आचार्यलगायत छन् ।

‘सुरूमा उनीहरूले अध्यक्ष मण्डलको नेतृत्व बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले गर्नुपर्छ भन्दै निहुँ खोजे । त्यसो गर्न सकिए आफू अनुकूलको कमिटी घोषणा गर्न पाइन्छ भन्ने उनीहरूको ध्येय थियो,’ ती नेताले भने ।

तर, निवर्तमान कमिटीका अधिकांश पदाधिकारीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटालाई बनाउनुपर्छ भनेर अडान नछाडेपछि ढुंगेल पक्ष रक्षात्मक बन्न पुगेको ती नेताको दाबी छ । ‘हामीले उहाँलाई अतिथि पर्यवेक्षक बस्नूस् भनेपछि उहाँले मान्नुभएको थियो,’ अर्का नेताले भने ।

देवकोटाको नेतृत्वमा जिल्ला सहइन्चार्जद्वय जानुका सिंखडा, रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय ध्रुवराज विश्वकर्मा र धनबहादुर घलेको अध्यक्ष मण्डल बनाइएको ती नेताले बताए ।

जिल्ला अध्यक्षका आकांक्षी अधिकारी पक्षधर नेता कार्यकर्ताले हुलहुज्जत, नाराबाजी गर्न र धर्ना बस्न थालेपछि प्रदेश अध्यक्ष ढुंगेल र प्रदेश सचिव नवराज सिलवाललाई अध्यक्ष मण्डलमा थप गर्ने सहमति भएको थियो ।

त्यतिले पनि परिणाम आफ्नो पक्षमा पार्न नसकिने देखेपछि अधिवेशन स्थगितको सूचना सामाजिक सञ्जालमा छरेर काठमाडौं हिंडेको त्रिपाठी समूहले बताएको छ । शनिवारसाँझ गुरू बराल, भूमि त्रिपाठी, खेम लोहनी र मिनराज कँडेललाई सहजीकरणको जिम्मा दिने र बिहान ८ बजेपछि बन्दसत्र सुरू गर्ने सहमति भएको थियो ।

‘५८० प्रतिनिधिमा उनीहरूको चार जना सदस्य मिलाउने सहमति पनि भएको थियो । किनभने उहाँहरू मनोनीत प्रतिनिधिको विवाद झिकेर तमासा देखाइरहनुभएको थियो । जनसंगठनबाट तीन–तीन जना प्रतिनिधि जना प्रतिनिधि ल्याइएको थियो । त्यसमा पनि आपत्ति जनाउन थालेपछि चार जना थप्न हामी मञ्जुर भएका थियौं । यतिले पनि नपुग्ने देखेपछि अधिवेशन स्थगितको भ्रम फिँजाउनुभयो,’ समूहका एक नेताले भने ।

प्रदेश ढुंगेलले अधिवेशन स्थगितको भ्रम फिँजाएको भन्दै निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन यथावत् रहेको विज्ञप्ति जारी गरेका थिए । अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली नै धादिङबेसी जाने कार्यक्रम थियो । तर, बाटो लामो भएको कारण देखाउँदै ओली गएनन् ।

उनी नगएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । उनले प्रदेश अध्यक्ष ढुंगेललाई फोन गरेर अधिवेशन समस्याग्रस्त नबनाउन बरू काठमाडौं फर्कन सुझाए पनि आफ्ना अनुकूलका पात्रलाई जिताउन लागिपरेको ती नेताको दाबी छ ।

धादिङमा भूमि त्रिपाठी र खेम लोहनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मार अधिवेशनले खेप्नुपरेको र एक जना कार्यकर्ताको हातै भाँच्चिन पुगेको ती नेताले बताए ।
प्रदेश कमिटी सदस्य रमेश आचार्यले आफूहरूले अध्यक्ष मण्डलको अध्यक्ष धर्मदत्त देवकोटालाई बनाउन नहुने माग राखेको बताए ।

‘हाम्रो माग धर्मदत्त देवकोटालाई अध्यक्ष मण्डलको अध्यक्ष बनाउनु हुँदैन । पाँच प्रतिशत मनोनीतको विषय नटुंग्याइ बन्दसत्रको प्रक्रिया अघि बढाउनु हुँदैन । अधिवेशनमा स्वयंसेवक कम्युनिस्ट पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुपर्यो भन्ने थियो,’ आचार्यले भने ।

तर, निवर्तमान अध्यक्ष त्रिपाठीले एकलौटी गर्न खोजेपछि विवाद भएको उनले बताए । सेतोपाटी

२०८० माघ २२, सोमबार प्रकाशित 0 Minutes 65 Views

ताजा समाचार