काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतयाः सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतयाः सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
उनले भने, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतवारका लागि विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।”
यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता ४ हजार ५ सय मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको तथा आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीचमा रहने मौसमविद् अधिकारीले बताए ।
आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातोपाटी