![](https://janasamsad.com/wp-content/uploads/2023/08/madhav-nepal1680101798.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक प्रक्रियाबाट आफैं प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’, उनले भने ।
नेता नेपालले अगाडि भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’
पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आएका छन् । सत्ता साझेदार दलका अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताए ।
अहिलेका समस्या समाधान गर्न गम्भीर विचार मन्थन जरुरी रहेको भन्दै उनले असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने बताए ।
‘हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौं । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ’, उनले भने । अनलाइन खबर