२०८० फाल्गुन १९ शनिबार

परिवारको माग : रुसी सेनाबाट छिटो उद्धार गरिदिनुस्

काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् । उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएका बताइन् । उनका अनुसार सेनामा भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए ।

तर, दुवै पटक रुसी सेनाले समाएर लग्यो । त्यसपछि युद्धमा जान लागेका बेला आफूलाई कल गरेको सम्झँदै उनले गहभरी आँशु पार्दै भनिन्, ‘त्यहाँबाट फोन गर्नु भएको छैन ।’ उनले थप बोल्न सकिनन् । कार्यक्रममा सहभागीको रुवाबासी नै चल्यो ।

सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए ।

उनीसँग बंकरमा भएका केही नेपाली घाइते भएका थाहा पाएको भन्दै उनले भने, ‘भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’ खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा रुसी सेनामा भागेर आएका सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए । अनलाइन खबर

२०८० माघ १९, शुक्रबार प्रकाशित 0 Minutes 57 Views

ताजा समाचार