२०८१ कार्तिक २४ शनिबार

चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका  छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राख्न अनुमति दिएको छ ।

तर,  प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन ।

प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो ।  यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो ।

सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी  बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।

तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ ।

उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित सीआईबीको हिरासतमा राखिएको छ । रातोपाटी

२०८० माघ १८, बिहीबार प्रकाशित 0 Minutes 155 Views

ताजा समाचार