२०८२ बैशाख ३० मंगलवार

फर्स्ट लेडीले विलासी ब्याग उपहार लिँदा दक्षिण कोरियाका राष्ट्रपति तनावमा

एजेन्सी । दक्षिण कोरियाकी फर्स्ट लेडी किम योन ह्वीले महँगो ब्याग उपहार लिँदा राष्ट्रपति योन सुक इउल तनावमा परेका छन् ।

अप्रिलमा हुन गइरहेको संसदीय निर्वाचनमा फर्स्ट लेडीको विलासी शैली आफूलाई प्रत्युत्पादक बन्नसक्ने चिन्ताले उनी तनावमा परेका हुन् । फस्ट लेडी किमले २२ सय डलर मूल्य बराबरको ‘क्रिस्टिन डिओर’ ब्रान्डको ब्याग उपहारस्वरुप लिएको भिडियो सार्वजनिक भएसँगै राष्ट्रपति इउल तनावमा रहेका छन् ।

राष्ट्रपतिको दल पिपल पावर पार्टीमा फस्ट लेडीको विलासित राजनीतिक एजेण्डा बनेको छ । यो ब्याग भने सन् २०२२ को सेप्टेम्बरमा फर्स्ट लेडीले लिएकी थिइन् । तर भिडिओ भने गत वर्षको अन्त्यतिर सार्वजनिक भएको थियो । पार्टीमा समेत यो विषय एजेण्डा बन्न थालेपछि उनीहरुको चित्त कसरी बुझाउने भन्ने तनाव राष्ट्रपतिलाई परेको छ ।

यो विवादका विषयमा राष्ट्रपति र फस्ट लेडी दुवैले सार्वजनिक रुपमा केही बोलेका छैनन् । यद्यपि यसलाई प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले पनि सरकारविरुद्धको एजेण्डा बनाएको छ । जनवरी १८ मा पीपीपीका नेता हाङ दङ युनले फर्स्ट लेडीको यो कार्य सार्वजनिक चासोको मामिला रहेको प्रतिक्रिया दिएका छन् ।

त्यसको केही दिनपछि हाङलाई राष्ट्रपतिले आफ्नो कार्यालय छोड्न भनेका थिए । यद्यपि उनले राजीनामा दिन भने अस्वीकार गरेका छन् । अहिले राष्ट्रपति र हाङबीचको सम्बन्ध पुन: सुध्रिएकाले उनीहरु सार्वजनिक मञ्चमा सँगै देखिने गरेका छन् ।

यद्यपि स्थानीय सञ्चारमाध्यमहरुले फर्स्ट लेडीको बानी व्यवहार फ्रान्सेली रानी म्येरी एन्टोनेटीकोझैँ भएको भन्दै पार्टीभित्रै धेरैले आलोचना गरिरहेका उल्लेख गरेका छन् । मत सर्वेक्षणका क्रममा ७० प्रतिशतले फर्स्ट लेडीको विलासी शैलीबारे राष्ट्रपतिले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘यो विषय निकै गम्भीर हो र यसलाई नजरअन्दाज गर्न मिल्दैन । निर्वाचनको सम्मुखमा यस्तो विवादास्पद विषयमा मौन रहने हो भने यसले मतदाताहरुको मनोविज्ञान परिवर्तन गर्न सक्छ’, पीपीका नेता अन चेल सूले बताएका छन् । अनलाइन खबर

२०८० माघ १३, शनिबार प्रकाशित 0 Minutes 138 Views

ताजा समाचार