डा यादव ढकाल
जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्। ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ।
चिसो मौसममा धेरैलाई श्वासप्रश्वासको समस्या हुन्छ। बच्चालाई नाकदेखि फोक्सोसम्म असर देखिन्छ। नाकसम्बन्धी रोगमा रुघाखोकी र एलर्जी हुन्छन्। घाँटी र कानसम्बन्धी संक्रमण देखिन्छ भने श्वास नलीको संक्रमण पनि देखिने गर्छ।
बच्चालाई फोक्सोको संक्रमण पनि हुन्छ। फोक्सोको संक्रमणले निमोनिया हुन्छ। बच्चालाई पेटसम्बन्धी समस्या देखियो भने पेट दुख्ने, वान्ता हुने र झाडापखाला हुने हुन्छ। जाडोमा बच्चाहरूलाई दमले पनि सताउने खतरा हुन्छ।
त्यसबाहेक आँखा पाक्ने, आँखाको ढकनीको संक्रमण, आँखा सुख्खा हुने अनि अन्नो हुने हुन्छ। छाला सुख्खा हुने तथा लुतो आउने पनि हुन्छ।
कुन रोगमा कस्ता लक्षण देखिन्छन्?
बच्चालाई रूघाखोकीको समस्या भयो भने नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाछ्युँ आउनेलगायत हुन्छन्। घाँटीसम्बन्धी समस्या हुँदा आवाज परिवर्तन हुने, निल्न गाह्रो हुने, बोली परिवर्तन हुने हुन्छ। कानसम्बन्धी समस्या भयो भने कानबाट पिप आउने, सुन्नमा गाह्रो हुने अनि बच्चालाई ‘इरिटेट’ हुने हुन्छ।
दम भयो भने हल्का ज्वरो आउने, घाँटी घ्यारघ्यार हुने अनि कोखा हान्ने हुन्छ। त्यस्तै शरीरमा अक्सिजनको मात्रा कम हुन्छ। बच्चालाई निमोनिया भएको छ भने ज्वरो आउने, छिटो-छिटो श्वास फेर्ने हुन्छ। कतिपय अवस्थामा बच्चा बेहोससम्म हुन सक्छ।
बच्चालाई पेटको समस्या भए पेट दुख्ने, खानमा अरुचि हुने अनि दिसा बढी लाग्ने हुन्छ। आँखासम्बन्धी रोग लागे आँखा रातो हुने, आँसु धेरै बग्ने, हेर्न गाह्रो हुने, आँखा बढी चिलाउने अनि चिप्रा बढी लाग्ने लगायतका लक्षण देखिन्छन्।
उपचार कसरी गर्ने?
कुनै समस्या देखिए पहिलो उपचार विधि बच्चालाई तातो बनाएर राख्ने नै हो। प्रशस्त झोलिलो खाना खुवाउने गर्नुपर्छ। जाडोमा बढी भाइरल हुने र त्यसले गर्दा ज्वरो आउने भएकाले यस्तो बेलामा सिटामोल खान दिनुपर्छ तर जथाभावी एन्टिबायोटिकको प्रयोग भने गर्नु हुँदैन।
भाइरलबाट जोगिन खोप पनि लगाउन सकिन्छ। चिसो मौसम सुरू हुनुभन्दा पहिला इन्फ्लुएन्जाको खोप लगाउने गरियो भने डायरियालगायत समस्याबाट ८० प्रतिशतसम्म जोगिन सकिन्छ।
बिरामी हुन नदिन के गर्ने?
पहिला सामान्य कुरामा ध्यान दिन सकियो भने यस्ता समस्याबाट जोगाउन सकिन्छ। त्यो भनेको सबभन्दा पहिला बच्चालाई न्यानो बनाएर राख्ने हो। प्रशस्त मात्रामा झोल चिज खान अनि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्छ। खानुभन्दा पहिला हात धुन सिकाउने र हात धोएरमात्रै खान दिने गर्नुपर्छ।
पोषणयुक्त खाना खुवाउन पर्छ जसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। जथाभावी औषधी किनेर खुवाउनु हुँदैन। फलफूल, हरियो सागसब्जी र माछा मासुको झोल खुवाउनु पर्छ। सामान्य ज्वरो आएको छ, बच्चाले राम्रैसँग खाएको छ, बच्चा शिथिल छैन भने घरमै उपचार गर्न सकिन्छ।
अलि धेरै ज्वरो आयो, बच्चाले धेरै छिटो श्वास फेर्यो र कोखा हान्ने, बच्चा बेहोस हुने, बच्चालाई दिसा लाग्ने तथा वान्ता भइरहने भयो भने त्यस्तो अवस्थामा अस्पताल लगेर उपचार गर्नुपर्छ।
(डाक्टर ढकाल अल्का अस्पतालमा कार्यरत छन्।) सेतोपाटी