२०८१ जेष्ठ ५ शनिबार

अफगानिस्तानलाई हराउँदै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए ।

त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए । अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

उनलाई अर्को एन्डबाट साथ दिन आवश्यक देखिन्छ । गुलशन झा नेपालका अनुभवी खेलाडी हुन् । तर एसिया कप र विश्वकपमा चल्न सकेका छैनन् । विश्वकपमा न्युजिल्यान्डसँग २ र पाकिस्तानसँग १८ रनमा आउट भएका थिए । गुलशनले जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ । कप्तान देव खनालले पनि राम्रो गर्न सकेका छैनन् ।

सुरुवात पाए पनि ठूलो इनिङबाट चुक्दै आएका छन् उनी । देव र गुलशनले आजको खेलमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने देखिन्छ । नेपालका ब्याटरले पछिल्लो खेलमा पाकिस्तानका स्पिनरसँग संघर्ष गरेका थिए । अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रमण हुनेछ । नेपाली ब्याटर सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

न्युजिल्यान्डले ९२ रन पूरा गर्न अफगानिस्तानसँग ९ विकेट गुमाएको थियो । गजान्फर, खलिल अहमद र अर्ब गुल प्रमुख स्पिनर हुन् । यी तीन स्पिनरले आज पनि निरन्तरता पाउनेछन् । यी तीन स्पिनरको सामना गर्न सहज हुने छैन । एसिया कपमा अफगानिस्तानका जाश्मिद जद्रानले नेपालविरुद्ध शतक हानेका थिए ।

उनी अफगानिस्तानका प्रमुख ब्याटर हुन् । नेपालले दुबै खेलमा पावर प्लेमा विकेट लिन सकेको थिएन । पावर प्लेमा गुलशन झा, आकाश चन्द र दुर्गेश गुप्ताले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ । स्पिनरमा दीपेश कँडेल र सुवास भण्डारीले निरन्तरता पाउनेछन् । अनलाइन खबर

२०८० माघ १२, शुक्रबार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार