२०८१ असार २९ शनिबार

अब के गर्लान् कृष्ण सिटौला?

राजु अधिकारी

प्रतिनिधि सभा चुनावमा दुई पटक हारेपछि संसदीय भूमिकाबाट टाढिएका नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला बिहीबार भएको राष्ट्रिय सभा चुनावमार्फत् पुनः संसदीय भूमिकामा फर्केका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिटौला नेकपा (एमाले) र राप्रपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका उद्धव पौडेललाई हराउँदै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका थिए।

गिरिजाप्रसाद कोइरालाको सक्रिय राजनीतिक जीवनको पछिल्लो दशकमा उनका विश्वासपात्र रहेका सिटौला लामो समय सत्ता राजनीतिको केन्द्रमा रहे। तर २०७४ र २०७९ को प्रतिनिधि सभा चुनावमा झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेपछि उनी किनारामा धकेलिएका थिए।

राष्ट्रिय सभामार्फत् संसदीय भूमिकामा फर्केका सिटौला अब कुन भूमिकामा रहन्छन्?, चर्चा गरिएजस्तो राष्ट्रिय सभा अध्यक्षको ‘तटस्थ’ भूमिका रोज्लान् कि पहिलेझैं सत्ता राजनीतिमा फर्केलान् भन्ने चासो छ।

कुनैबेला आफूलाई सत्ता राजनीतिको माहिर खेलाडी सावित गरिसकेका सिटौलाको आगामी भूमिकाले पार्टीको आन्तरिक जीवनमा प्रभाव पार्ने कांग्रेस नेताहरू बताउँछन्।

‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाइएको हो,’ नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरूले भन्दै आएका छन्, ‘सहमतिअनुसार नै उहाँले राष्ट्रिय सभाको नेतृत्व गर्नुहुनेछ।’

सिटौलाले उम्मेदवारी दर्ता गरेकै दिन विराटनगरमा नेता कोइराला र महामन्त्री शर्माले भनेका थिए, ‘उहाँको योगदान र समन्वयकारी छविकै कारण राष्ट्रिय सभाको नेतृत्व गर्न कांग्रेसले उहाँलाई अघि बढाएको हो।’

यसअघि संसदीय अवसर नपाएकालाई प्राथमिकता दिने निर्णय केन्द्रीय समितिले गर्दा पनि शेखर–गगन समूहदेखि महामन्त्री शर्मा सबैले सिटौलालाई उम्मेदवार बनाउने सवालमा विरोध गरेनन्। संस्थापन इतरका यी तीनै जना नेता बरू सिटौलाको चुनावी अभियानमा सक्रिय रूपमा सामेल रहे।

संस्थापन इतरका सबैजसो नेताहरू र गठबन्धन दलका सबैजसो नेताहरूले यसबीचमा सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्ष भनिरहे पनि सिटौलाले भने अहिलेसम्म मुख खोलेका छैनन्।

‘पहिले संसदमा पुगौं, त्यसपछि के भूमिका गर्ने टुंगो होला’ भन्दै आएका सिटौलालाई राष्ट्रिय सभा चुनाव र उनको आगामी योजनाबारे बारम्बार प्रश्न गर्दै आएको छ। यद्यपि उनले आफ्नो भूमिकाबारे मुख खोल्न मानेनन्।

‘मेरो उम्मेदवारीबारे म पत्रकार सम्मेलन गरेरै आफ्ना कुरा राख्नेछु’, हरेकजसो भेटमा उनले यसो भनिरहे। तर उनले आफ्ना कुरा राख्ने पत्रकार सम्मेलन गरेनन्।

प्रतिनिधि सभामा दुई–दुई पटक चुनाव हारेका उनले सजिलै संसद पुग्न राष्ट्रिय सभाको बाटो समाएको तथा आफैं पनि सामेल भएर पार्टी केन्द्रले बनाएको मापदण्ड मिचेर उम्मेदवार बनेकै कारण सिटौलाले चुनावअघि पत्रकारको प्रश्न सामना गर्ने हिम्मत गरेनन्।

यसरी अहिलेसम्म आफ्नो आगामी भूमिकाबारे मौन रहेका सिटौलासँग कांग्रेस संस्थापन इतर पंक्ति सशंकित हुन थालिसकेको छ। यसले सिटौलाको भावी भूमिकाले कांग्रेसभित्र नयाँ शक्ति संघर्ष सुरू हुने अनुमान इतर पक्षको छ।

राष्ट्रिय सभा चुनावको केही दिनअघि मात्रै शेखर–गगन पक्षका एक जना केन्द्रीय सदस्यले सेतोपाटीसँग भनेका थिए, ‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन भनेर हामीले मापदण्डप्रति आँखा चिम्लेको हो। तर संस्थापन पक्ष भने उहाँलाई सरकारको भूमिकातिर लैजाने तयारीमा रहेको देखिन्छ। यदि त्यसो भयो भने जुन उद्देश्यसहित उहाँलाई राष्ट्रिय सभामा लैजान खोजिएको हो, त्यो विपरीत हुन्छ।’

ती नेताका अनुसार राजनीतिक जीवनको उत्तरार्धमा पुगेका सिटौलाको ‘ग्रेसफुल एक्जिट’ का लागि संस्थापन इतरले उनलाई कुनै अवरोध नगरेको हो।

‘उहाँलाई उम्मेदवार बनाउन नहुने मत बलियो हुँदाहुँदै पनि अध्यक्षका रूपमा उहाँको सम्मानजनक बिदाइ होस् भनेर हामीले विरोध नगरेका हौं’, ती नेताले भने, ‘तर संस्थापन पक्ष भने उहाँलाई सरकारमा लैजाने तयारीमा रहेको देखिन्छ। उहाँले पनि अहिलेसम्म मुख खोल्नु भएको छैन। त्यसैले उहाँको भूमिका के हुने भन्ने अन्योल कायमै छ।’

सिटौलालाई सत्ता राजनीतिमा स्पेस दिन सभापति शेरबहादुर देउवा समूहका नेताहरू सकारात्मक रहे पनि शेखर र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहितका युवा नेताहरू विपक्षमा छन्। सिटौला सत्ता राजनीतिमा फर्किए आफूहरूको भूमिका के हुने भन्ने त्रास यो समूहलाई छ।

‘दुई पटक चुनाव हारेपछि राष्ट्रिय सभाको अध्यक्ष हुँदै राजनीतिबाट बिदाइ हुँदा उहाँको सम्मान होस् भन्ने ध्येय हाम्रो हो,’ कांग्रेसका नेता भन्छन्, ‘तर संस्थापनले उहाँलाई फेरि सत्ता राजनीतिमा ल्याउन खोजिरहेको छ।’

सभापति  देउवा वरिपरिका केही नेताहरू सिटौलालाई आफ्नो समूहको भावी नेता बनाउनु पर्ने लबिङमा पनि रहेको स्रोतको दाबी छ। ‘पूर्णबहादुर खड्काभन्दा सिटौला नै प्रभावकारी हुन्छन् भन्ने ठहरमा आरजु देउवाहरू पुगेको संकेत पाइएको छ। त्यसैले उम्मेदवार बन्दै गर्दाको सहमति सिटौला र संस्थापन पक्षले नमान्ने सम्भावना उच्च छ,’ उक्त स्रोतले भन्यो।

सिटौलालाई सत्ता राजनीतिमा फर्काउँदै पार्टीको आउँदो महाधिवेशनमा आफ्नो टिमबाट उनलाई अघि बढाउनुपर्ने मत पनि संस्थापनभित्र रहेको नेताहरू बताउँछन्।

‘आउँदो महाधिवेशनमा संस्थापनबाट अघि बढाउने नेताको खोजी भइरहेको देखिन्छ। त्यसका लागि पनि सिटौलालाई राष्ट्रिय सभाको नेतृत्वमा जानबाट रोक्ने काम हुनसक्छ,’ ती नेताले भने।

त्यसो त सिटौला स्वयम् र उनीनिकट नेताहरूले पनि अहिलेसम्म खुलेर उनको आगामी भूमिकाबारे बोलेका छैनन्। यसले पनि कांग्रेसको संस्थापनइतर पक्ष सशंकित देखिन्छ। ‘सहमति जे भएको छ, उहाँ सोहीअनुसार अघि बढ्ने हो,’ सिटौलानिकट नेताहरूले पनि यसरी तौलेर बोल्ने गरेका छन्।

‘पूर्वसहमति अनुसार नै उहाँ अघि बढ्नुहुन्छ’, सिटौलाका विश्वास पात्र कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भने। सहमति के भएको छ भन्ने प्रश्नको जवाफमा उनी खुलेनन्। ‘शीर्ष तहमा भएको समहतिबारे हामीलाई धेरै जानकारी हुने कुरा पनि भएन। तर जे भएको हो त्यही सहमतिअनुसार नै उहाँ अघि बढ्नुहुन्छ,’ उनले भने।

झापा-३ मा पछिल्ला दुई निर्वाचनमा राप्रपा अध्यक्ष  लिङ्देनबाट पराजय व्यहोरेका सिटौला सत्ता गठबन्धनको अनुकूल गणितका कारण राष्ट्रिय सभातिर लम्किएका थिए।

२०४८ यता संसदका हरेक निर्वाचन लड्दै आएका उनी २०७० सम्मको निर्वाचनमा  एउटा निर्वाचनमा जित र अर्कोमा हार सहँदै आएका नेता हुन्।२०७४ यता भने उनको राजनीतिक उपलब्धिको खाताबाट जित गायब थियो। राष्ट्रिय सभा निर्वाचनले उनको त्यो हार यात्रामा ब्रेक लगाइदिएको छ।

समन्वयकारी र मेहनती मानिने सिटौलाका लागि २०७४ को निर्वाचनको पराजय व्यक्तिगत राजनीतिक जीवनका लागि हानिकारक सावित भयो। कांग्रेसको नेतृत्वमा दाबी गरिरहेका उनले सभापतिमा शेरबहादुर देउवाको पक्षमा उभ्याएर पार्टीभित्र आफ्नो ठाउँ सुरक्षित पार्दै आएका छन्। सेतोपाटी

२०८० माघ ११, बिहीबार प्रकाशित 1 Minute 121 Views

ताजा समाचार