२०८१ चैत्र ४ सोमबार

चोरीको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।

ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीनपटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एकपटक अकल्याण्डमा र दुईपटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।

पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिंडेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

इतिहास रचेकी सांसद हुन् गोलरिज

उनी सानै छँदा परिवारका सदस्यहरुसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् ।

उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो । संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् ।

पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् ।

उनले भनेकी छन्, ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’ मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठीक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् ।

‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन् । अनलाइन खबर

२०८० माघ ३, बुधबार प्रकाशित 0 Minutes 150 Views

ताजा समाचार