२०८२ बैशाख ३० मंगलवार

डोनाल्ड ट्रम्पले जिते आयोवाको ककस, भारतीय मूलका रामास्वामी पछि हटे

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावका लागि उम्मेदवार हुनुपूर्व आयोवा राज्यबाट स्थानीय प्रतिनिधिहरुको समर्थन पाएका छन् ।

ककस भनिने यो प्रतिस्पर्धामा सबैभन्दा अन्तिम स्थानमा रहेका भारतीय मूलका विवेक रामास्वामीले राष्ट्रपतिको चुनावी अभियानबाट पछि हटेको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने बताएका छन् ।

ककसको आयोजना स्कुल जिम, टाउन हल जस्ता सार्वजनिक स्थानमा हुने गर्दछ । ककस एक प्रकारको स्थानीय बैठक हो । यसको आयोजना रिपब्लिकन र डेमोक्रेटिक दुई पार्टीहरुले गर्दछन् ।

आयोजनामा हुने खर्च पनि तिनै पार्टीहरुले व्यहोर्छन् । बैठकमा पार्टीका कार्यकर्ताहरु सहभागी हुन्छन् र उनीहरुले आ-आफ्नो पार्टीभित्रबाट जिल्लास्तरको अधिवेशनका लागि प्रतिनिधिहरु चुन्छन् ।

जिल्लास्तरबाट प्रदेशस्तरको अधिवेशनमा भाग लिने प्रतिनिधिहरु चुनिन्छन् र ती प्रतिनिधिहरुले राष्ट्रपति चुनावका लागि आ-आफ्नो पार्टीबाट राष्ट्रपति चुनावको उम्मेदवार छनोट गर्छन् । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

रिपब्लिकन पार्टीबाट ट्रम्प फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा छन् । उनले अयोवा राज्यबाट सबैभन्दा धेरै प्रतिनिधिको समर्थन पाएका छन् । दोस्रो र तेस्रो नम्बरमा रिपब्लिकन नेता रोन डिसेन्ट्स र निकी हेली छन् ।

भारतीय मूलका विवेक रामास्वामी अन्तिम स्थानमा थिए । उनले आफू राष्ट्रपति चुनाव नलड्ने घोषणा गर्दै ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । ३८ वर्षीय बिजनेसम्यान रामास्वामीले सुरुवाती अभियानमा ब्यापक समर्थन पाएका थिए ।

तर सोमबार आयोवा ककसमा उनले सबैभन्दा कम भोट पाए । सोमबार राति ककसको नतिजा सार्वजनिक भएपछि उनले भने, ‘मैले जे चाहेको थिएँ, त्यो पाउन सकिनँ ।’ अनलाइन खबर

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 166 Views

ताजा समाचार