२०८१ जेष्ठ ६ आईतवार

राष्ट्रिय क्रिकेट : एपीएफको लगातार दोस्रो जित, कोशीको दोस्रो हार

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित हात पारेको हो ।

एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो । कोशीले भने पहिलो खेलमा मधेश प्रदेशसँग ७ विकेटको पराजय भोगेको थियो ।

सोमबारको खेलमा १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफलाई जित दिलाउन कप्तान रोहित पौडेलले ५३ बलमा ९ चौका र ३ छक्काको मदतमा ८० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४४ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३५ रन जोड्यो । कोशीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५५ रन बनाए ।

एपीएफका लागि अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान ३-३ विकेट हात पारे । अमर रौटेलाले २ विकेट लिए ।

२०८० माघ १, सोमबार प्रकाशित 1 Minute 95 Views

ताजा समाचार