२०८१ जेष्ठ ९ बुधबार

छोराछोरी इन्टरनेट चलाउँछन्? याद गर्नुस्, कतै भर्चुअल हिंसामा त परेका छैनन्!

काठमाडौं । साना र नवकिशोरवयका छोराछोरी धेरै समय इन्टरनेटमा झुम्मिन्छन् भने याद गर्नुहोस्, उनीहरू भर्चुअल हिंसामा परिरहेका हुन सक्छन्।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेन (भिओसी) ले विभिन्न विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम गर्दा धेरै बालबालिकाहरू भर्चुअल हिंसाको शिकार हुने गरेको पाएको छ। अहिले यो संस्थाको सम्पर्कमा २२ जना बालबालिका छन्।

उनीहरूलाई संस्थाले निरन्तर मनोपरामर्श दिँदै आएको छ। घरमा आमाबाबुलाई भन्न अप्ठ्यारो मान्ने बालबालिकालाई संस्थाले उनीहरूको परिवारलाई जानकारी नगराउने सर्तमा परामर्श दिँदै आएको छ। उनीहरूको व्यक्तिगत गोपनीयतालाई मध्यनजर गरेर हामीले उनीहरूको नाम ललितपुर-१ र ललितपुर-२ राखेका छौं।

तीन वर्षअघि कोरोना महामारीले घरभित्रै थुनिएर बस्नुपर्दा ललितपुर-१ लाई मोबाइलमा फ्रिफायर गेम खेल्ने बानी लाग्यो। साथीहरूले खेलेको देखेर उनी पनि फ्रिफायरप्रति आकर्षित भएकी थिइन्। उनीसँग मोबाइल थिएन।

कहिलेकाहीँ आमाको मोबाइल हेर्थिन्। त्यसमै डाउनलोड गरेर फ्रिफायर खेल्न थालिन्। ‘६/७ महिनामा राम्ररी खेल्न सक्ने भएँ। त्यसपछि खेल्ने बानी लाग्न थाल्यो,’ उनले भनिन्। कहिलेकाहीँ घरछेउमा ब्याडमिन्टन पनि खेल्थिन्।

सोही क्रममा छिमकेका २५ वर्षीय युवकसँग चिनजान र बोलचाल भयो। उनले फ्रिफायर पनि खेल्ने भनेपछि आइडी साटासाट भयो। फ्रिफायर खेलमा ती युवक सधैं ललितपुर-१ सँगै हुन्थे। खेलमा उनलाई विपक्षीको गोली लागे तिनै युवक बचाउन आइपुग्थे।

हतियार र अन्य सामग्री पनि किनेर दिन्थे। ‘यसलाई मैले सामान्य रूपमा लिन्थेँ। त्यति बेला मैले त्योबाहेक अन्य महसुस गर्ने उमेर पनि थिएन,’ उनले भनिन्। ललितपुर-१ र ती युवकको घर नजिकै थियो। फ्रिफायरमा यति लत लाग्यो कि, कहिलेकाहीँ आफ्नो भाइलाई लिएर उनी ती युवकको घरमै गएर पनि खेल्न थालिन्।

युवकको घरमा इन्टरनेट भएकाले उनलाई सजिलो भयो। एक दिन युवककै कोठाको खाटमा बसेर फ्रिफायर खेल्दै थिइन्। ती युवक पछाडिबाट खाटमा आएर सुते। खेलमै लीन भइरहेकी उनले एक्कासि आफ्नो संवेदनशील अंगमा छोएको महसुस गरिन्।

फ्रिफायर चलिरहेको मोबाइल उनको हातबाट खस्यो। जुरूक्क उठेर हेर्दा ती युवक अर्धनग्न अवस्थामा थिए। युवकको अवस्था देखेर ललितपुर-१ आत्तिइन् र रून थालिन्।

‘मभन्दा उमेरमा पनि धेरै ठूलो भएकाले म दाइ सम्झिन्थेँ। त्यस्तो भएपछि उठेर हेर्दा उनको ज्यानमा कपडा नै थिएन,’ उनले भनिन्, ‘रोएँ, डराएँ र पुलिसलाई भन्दिन्छु भनेपछि बल्ल उनले लुगा लगाए। म बाहिर निस्केँ।’ उनले आफूमाथि भएको कुरा कसैलाई भन्न सकिनन्। आमालाइ सुनाउन चाहन्थिन्, सकिनन्।

‘आमाले मोबाइल चलाउँदा त गाली गर्नुहुन्थ्यो। त्यस्तो कुरा कसरी भन्न सक्थेँ र,’ उनले भनिन्। तीन वर्षअघिको त्यो घटनाले अहिले पनि झस्काइरहने र बेलाबेला डर लाग्ने उनी बताउँछिन्। अझ कसैलाई सुनाउन नसक्दा मनभित्रै कुरा रहँदा थप गाह्रो हुने उनले बताइन्।

एक दिन उनी पढ्ने विद्यालयमा भिओसीको समूह चेतनामूलक कार्यक्रम लिएर पुग्यो। त्यही कार्यक्रममा बालबालिकामाथि हुने यौन हिंसा र त्यसले बालमस्तिष्कमा पार्ने असरबारे बताइएको थियो।

त्यहाँ आफू हिंसामा परेपछि सो घटनाबारे कसैलाई भन्न नसक्दा दिमागमा पर्ने असरबारे पनि भनिएको थियो। त्यो समूहले भनेका कुराहरू उनले आफूमा आएको परिवर्तनसँग तुलना गरिन्। यस्तो पाइन्; पढाइ खस्केको, टोलाइरहने, बेलाबेला झस्किने आदि।

त्यसपछि उनी आफूमाथि भएको हिंसाबारे सुनाउन तयार भइन् तर घरपरिवारबाट गोप्य राख्ने सर्तमा। ललितपुर-१ लाई उनकी आमाले त्यसअघि नै पटकपटक विभिन्न अस्पताल लगेकी थिइन्। तर कुनै रोग पत्ता लागेको थिएन।

उनी अहिले आफ्नो परिवारलाई थाहा नदिई भिओसीबाट मनोपरामर्श लिइरहेकी छन्।  त्यस्तै ललितपुर-२ एक वर्षअघि स्न्यापच्याट चलाउँथिन्। त्यस क्रममा एक युवकसँग उनको बोलचाल हुन थाल्यो। बोलचाल हुँदै जाँदा ती युवकसँग सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा पनि जोडिइन्।

बिस्तारै ती युवकले विभिन्न कुरामा बहलाएर नग्न तस्बिर पठाउन भने। ‘नग्न तस्बिर पठाएपछि नुहाउने बेलामा समेत भिडिओ कल गर्न थाले। मनाही गर्दा नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिन्थे। बाध्य भएर नग्न अवस्थामा समेत भिडिओ कल गर्नुपर्थ्यो,’ उनले भनिन्।

त्यसपछि उनले दैनिक भिडिओ कल गर्ने र नग्न तस्बिर पठाउन भन्न थाले। नगरे सामाजिक सञ्जालमा ललितपुर-२ को नग्न तस्बिर भाइरल गरिदिने धम्की दिन थाले। ‘बेलाबेला मेरो टाउकोमा इमोजी राखिएको नग्न तस्बिर मलाई नै पठाएर यो फेसबुकमा हालिदिन्छु भन्थ्यो,’ उनले भनिन्।

अचाक्ली भएपछि सामाजिक सञ्जालका सबै प्लेटफर्मबाट उनले आफ्नो अकाउन्ट डिलिट गरिन्। तर उनलाई भित्रभित्रै कतै आफ्नो नग्न तस्बिर सार्वजनिक गरिदिने हो कि भन्ने डर थियो। ‘त्यसपछि एक्लै बस्न मन लाग्ने, पढ्न मन नलाग्ने, खान मन नलाग्ने हुन थाल्यो, ८ बाट ९ कक्षामा उक्लिने बेला एउटा विषयमा फेल नै भएँ,’ उनले भनिन्।

डरले भित्रभित्रै उकुसमुकुस हुन थालेपछि विद्यालयकै महिला शिक्षकलाई आफूमाथि भएको घटना सुनाइन्। शिक्षकले नै उनलाई भिओसीको समूहसँग सम्पर्क गराइदिएकी थिइन्। अहिले उनी निरन्तर भिओसीमार्फत् परामर्श लिइरहेकी छन्।

भिओसीकी मनोपरामर्शकर्ता कमला सुनारले अहिले उनीहरू दुवै जनामा पहिलेभन्दा सुधार आएकी बताइन्। उनका अनुसार संस्थाले अहिले बागमती र कोशी प्रदेशका विद्यालयहरूमा बालबालिका लक्षित जनचेतनामूलक कार्यक्रम चलाइरहेको छ।

दुई वर्षमा भर्चुअल हिंसा भएका २९ जना र शारीरिक हिंसा भएका ३२ जना सम्पर्कमा आएका छन्। तीमध्ये १५ वटा प्रहरीकहाँ जाहेरीबाट आएका हुन् भने १६ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै २२ जना बालबालिकाले आफूलाई भर्चुअल र शारीरिक हिंसा भएको भन्दै आफैं संस्थाको सम्पर्कमा आएका छन्।

प्रहरीको साइबर ब्युरोमा पनि भर्चुअल हिंसा घटनासम्बन्धी उजुरी बढ्न थालेको छ। ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार पुसमा मात्र ४७ जना बालबालिकाले आफूमाथि भर्चुअल हिंसा भएको भन्दै उजुरी दिएका छन्।

त्यसमा २२ बालक र २५ बालिका छन्। गत मंसिरमा २२ बालक, ३५ बालिका गरी ५७ जनाले आफूमाथि भर्चुअल हिंसा भएको भन्दै उजुरी दिएका छन्। यसरी पाँच वर्षमा १७६ बालबालिकाले आफूमाथि भर्चुअल हिंसा भएको भन्दै उजुरी गरेको ब्युरोको प्रवक्ता एसपी रायले जानकारी दिए।

साइबर ब्युरोको तथ्यांकअनुसार २०७५ /७६ मा १० जना, २०७६/७७मा १०४ जना, २०७७/७८ मा २०८ जना, २०७८/७९ मा १८३ जना, २०७९/८० मा १७६ जना बालबालिकाले आफूमाथि हिंसा भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा राखिदिएको, नग्न तस्बिरमा फोटो जोडेको, ह्याक गरेर फिरौती माग गरेको, सामाजिक सञ्जालमा तस्बिर प्रयोग गरेर बेइज्जत गर्ने तथा दुःख दिने गरेको भन्दै उजुरी दिएका एसपी रायले जानकारी दिए।

भर्चुअलबाहेक २०७५ देखि हालसम्म एक हजार ४८६ जना बालबालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ। हामीले कुरा गर्दा प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायत थिए।

उनका अनुसार पाँच वर्षमा ११ हजार ७६८ बालिकामाथि बलात्कार भएको उजुरी आएको छ। आर्थिक वर्ष २०७५/७६ मा २ हजार २५४, २०७६/७७ मा २ हजार १६७, २०७७/७८ मा २ हजार ५५४, २०७८/७९ मा २ हजार ३९५, २०७९/८० मा २ हजार ३९८ जनाले आफूमाथि बलात्कार भएको प्रहरीमा उजुरी दर्ता भएको छ।

यीमध्ये ११ हजार ६७३ ले मात्र मुद्दा दर्ता भएको केन्द्रीय प्रवक्ता डिआइजी कडायतले जानकारी दिए। सेतोपाटी

२०८० माघ १, सोमबार प्रकाशित 1 Minute 81 Views

ताजा समाचार