२०८१ जेष्ठ ५ शनिबार

नामिबिया विरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन् ।

नेपालका गुलशन झा र  आकाश चन्दले ३-३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए । यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जित्यो ।

यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो । अब आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ । नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू-१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा छ । अनलाइन खबर डटकम

२०८० पुष २७, शुक्रबार प्रकाशित 1 Minute 95 Views

ताजा समाचार