२०८१ असार ९ शनिबार

प्रतिनिधि सभामा दुई पटक असफलता भोगेपछि राष्ट्रिय सभातिर लम्केका सिटौला

कांग्रेस उच्च स्रोत भन्छः उहाँ अब राष्ट्रिय सभा अध्यक्ष 

राजु अधिकारी । प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभामार्फत पुनः संसद फर्कने प्रयासमा छन्।

नेपाली कांग्रेसले कोशीको अन्य क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय लिएसँगै राजनीतिक जीवनको उत्तरार्धमा सिटौला संसदको उपल्लो सदनको उम्मेदवार बनेका छन्।

झापा ३ मा पछिल्ला दुई निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजय व्यहोरेका नेता सिटौलाले झापाका आफू निकट कार्यकर्ताहरूलाई धेरै अघि नै राष्ट्रिय सभा चुनाव लड्ने बताएका थिए।

‘केही महिना अघि नै उहाँले हामीलाई बोलाएर राष्ट्रिय सभा चुनाव लड्छु भनेर जानकारी गराउनु भएको थियो,’ कोशी कांग्रेसका एक जना प्रदेश सभा सदस्यले भने, ‘भागबन्डा मिल्यो भने उहाँ राष्ट्रिय सभा अध्यक्ष बन्ने चर्चा पनि छ।’

यद्यपि यसबारे सिटौलाले मुख खोलिनसकेको ती सांसदको भनाइ छ।

‘डेढ महिना अघि नै काठमाडौंस्थित निवासमा उहाँले झापाको टोलीसँग राष्ट्रिय सभा निर्वाचन लड्ने बताउनु भएको थियो,’ ती सांसदले थपे, ‘म चुनाव लड्छु तपाइँहरू तयारीमा लाग्नुहोस् भन्नुभएको थियो।’

२०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिटौला राप्रपाका लिङ्देनबाट पराजित भएपछि उनको संसदीय भूमिका खोसिएको थियो। यसपटक राष्ट्रिय सभाबाट उनी पुनः संसदीय भूमिकामा फर्कने तयारीमा छन्।

सत्ता गठबन्धनसँग रहेको मत एकत्रित रुपमा उनको पक्षमा झर्ने अवस्था भए सिटौलाको संसद फर्कने प्रयास कठिन छैन। कोशीमा सत्ता गठबन्धनसँग एमालेको दाँजोमा धेरै मत छ।

कोशीमा राष्ट्रिय सभा निर्वाचनमा ९३ प्रदेशसभा सदस्यसहित ३ सय ६७ जना मतदाता छन्। त्यसमा १३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २७४ जना छन्।

प्रदेश र स्थानीय तह गरी कोशीमा एमालेको ४ हजार २४८ मतभार छ भने सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ।

कांग्रेस एक्लैको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, नेकपा एकीकृत समाजवादीको ३४५ र जसपाको १२९ मत छ।

३९४ मतभार भएको राप्रपाले प्रदेशमा उद्दव पौडेललाई उम्मेदवार बनाउने भएको छ। कोशीको सभामुख लिँदै प्रदेश सरकारमा सामेल हुने दिशामा राप्रपा अघि बढेको छ। कोशीमा स्वतन्त्रहरूको मतभार ५७ छ।

यो गणित सिटौला र गठबन्धनका लागि अनुकूल देखिन्छ। हुनत यसअघिको राष्ट्रिय सभा चुनावमा कोशीमा एमाले र गठबन्धनको मत सबै एकै ठाउँ नझरेको दृष्टान्त पनि छ। सत्ता गठबन्धनसँग धेरै मत भएकै बेला एमालेका गुरू बराल र कांग्रेसका गोपालकुमार बस्नेतको मत बराबरी भएको थियो। गोला तानेर कांग्रेसका बस्नेत राष्ट्रिय सभामा चुनिएका थिए।

कांग्रेस नेता सिटौलाले २०४८ यता संसदका हरेक निर्वाचन लड्दै आएका छन्। २०७० सम्मको निर्वाचनमा सिटौलाले एउटा निर्वाचनमा जित र अर्कोमा हारको संयोग व्यहोर्दै आए।

२०७४ यता भने उनको राजनीतिक उपलब्धिको खाताबाट जित गायब छ। लगातार दुई पटक व्यहोरेको हारलाई राष्ट्रिय सभा निर्वाचनले बिर्साउने अपेक्षामा उनका कार्यकर्ताहरू छन्। उनका पक्षका नेता कार्यकर्ताहरू अनुकूल गणित र जनप्रतिनिधिहरू मतदाता भएका कारण चुनावमा कुनै चिन्ता नहुने बताइरहेका छन्।

पहिलोपटक २०४८ को निर्वाचनमा एमालेका नेता द्रोणाचार्य क्षेत्रीसँग पराजित बनेका सिटौलाले २०५० को उपनिर्वाचनमा सफलता पाएका थिए। एमाले नेता क्षेत्रीको निधन भएपछि भएको उपनिर्वाचनले सिटौलाको सिंहदरबार यात्राको ढोका खोलेको थियो। त्यसपछिका हरेक चुनावमा एकमा जित अर्कोमा हार सिटौलाले सामना गरेको संयोग थियो।

उपनिर्वाचन भएको केही समय नबित्दै २०५१ मा मध्यावधि निर्वाचन भयो। त्यसमा उनी पुनः पराजित भए। एमालेका पुष्प पोखरेलसँग उनले मध्यावधि निर्वाचन हारे। २०५६ को निर्वाचनको मुखैमा एमाले विभाजित बनेको बेलामा कांग्रेसले झापाका छ मध्ये तीन क्षेत्रमा जित हात पारेको थियो।

कांग्रेसका विजेता तीन जना मध्ये सिटौला पनि एक थिए। २०५६ को चुनावमा प्राप्त जित सिटौलाका लागि राजनीतिक उचाइँका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो।

कोइराला परिवारसँग निकट सम्बन्ध बनाएर कांग्रेस राजनीतिमा स्थापित बनेका उनी त्यसपछि लगातार राजनीतिको केन्द्रमा रहे। झापाको पार्टी सभापति हुँदै केन्द्रीय सदस्य बनेका उनी गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मात्रै बनेनन्, नेपाली राजनीतिको प्रभावशाली पात्र पनि बने।

२०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदा उनी सरकारमा शक्तिशाली गृहमन्त्री थिए। त्यहिबेला उनी माओवादी नेता पूर्णसिंह राजवंशीसग पराजित बने।

२०७० को दोस्रो संविधानसभा चुनावमा भने उनले जित हात पारे। २०७४ मा वाम गठबन्धनले राप्रपाका लिङ्देनलाई सघाएपछि हारेका उनी २०७९ को चुनावमा पनि सफल हुन सकेनन्।

समन्वयकारी र मिहेनती मानिने सिटौलाका लागि २०७४ को पराजय उनको राजनीतिक जीवनका लागि हानीकारक सावित भयो।

कांग्रेसको नेतृत्वमा दाबी गरिरहेका उनले सभापतिमा शेरबहादुर देउवाको पक्षमा उभ्याएर पार्टीभित्र आफ्नो ठाउँ सुरक्षित पार्दै आएका छन्।

पार्टीका दुई जना महामन्त्रीदेखि संस्थापन इतर पक्षको चर्को असन्तोषबीच राष्ट्रिय सभा उम्मेदवार बन्न सफल भएका सिटौलाले यसपटक सफलता पाउलान्?

गणित अनुकूल भए पनि यसको अन्तिम फैसलाका लागि माघ ११ सम्म पर्खिनै पर्ने हुन्छ।

यो प्रयासमा सफल भए उनका पक्षका कार्यकर्ताले भने झैं राष्ट्रिय सभा अध्यक्ष जस्तो समन्वयकारी पद ताक्छन् कि सरकारतिर आँखा लगाउलान्?

सत्ता राजनीतिका माहिर खेलाडी सिटौलाको आगामी भूमिका धेरैका लागि चासोको विषय हुनसक्छ। कांग्रेस उच्च स्रोतका अनुसार सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने सम्भावना प्रबल छ।

राष्ट्रिय सभा अध्यक्षका लागि सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवाबाट आश्वासन पाइसकेका छन्। सेतोपाटी

२०८० पुष २२, आईतवार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार