इलाम, २१ पुस । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।
बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका-११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझँै भएर अस्पतालमै बस्नु परेको थियो ।
परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेको अस्पतालले जनाएको छ । उनी निको भएको ६ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब रु. ४ लाख १५ हजार नहुँदा घर जान पाइएको थिएन ।
विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए । उनले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए ।
“दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो”, डा भन्तानाले भने, “शतप्रतिशत निको भएको त होइन तर उनमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए ।
“६ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो”, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, “अस्पताललाई बुझाउने पैसा नभएपछि करिब ६ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।”
दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पारेको थिए । विभिन्न सङ्घ-संस्थाको पहलमा उहाँलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।
इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन रु ५० हजार प्रदान गरेको थियो ।
उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।