कोरियन भाषा परीक्षा : उत्पादनमूलक क्षेत्रमा १ लाख ६४ हजार बढीले दिए आवेदन

२० पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ ।

गत असारमा सिपबिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो ।

त्यसअघि साउनमा भएको सिपबिल्डिङका लागि ईपीएस परीक्षमा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।

त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।

तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउँनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुन: उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो ।

अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।

त्यसअघि सिपबिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो । अनलाइन खबर

२०८० पुष २०, शुक्रबार प्रकाशित 0 Minutes 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/