२०८१ बैशाख २१ शुक्रबार

आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न हर्क साम्पाङलाई तीनदिने अल्टिमेटम

आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् विवादमा तानिएका छन् ।

गत बिहीबार आफ्नो कार्यकक्षबाट मेयर साम्पाङ्ले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि धरानमा क्रियाशील विभिन्न राजनीतिक दलका भातृ सङ्गठनहरूले आज (मंगलबार) तीन दिनभित्र कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न अल्टिमेटम दिएका छन् ।

साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएर प्रथम किराँती राजा यलम्बरको फोटो राखेपछि धरानमा विवाद सुरु भएको हो । मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न पुगेका विभिन्न भातृ सङ्गठनका नेता-कार्यकर्तालाई साम्पाङ्ले रोकेका थिए ।

साम्पाङ्ले फोटो राख्न अस्वीकार गरेपछि उनीहरूले ३ दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्न अल्टिमेटम दिएका छन् । तीन दिनभित्र साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नराखे आफैँ आएर राखिदिने अल्टिमेटम दिएर फर्किएको युवा सङ्घ सुनसरीका उपाध्यक्ष प्रमोज्ञ भट्टराईले बताए ।

फोटो राख्न उपमहानगरपालिकामा भ्रातृ सङ्गठनका कार्यकर्ता पुगेपछि परिसरमा तनाव बढेको थियो । तनाव भएपछि मेयर साम्पङसँग वार्ता भएको थियो । वार्तामा साम्पङले प्रधानमन्त्री धरान आए मात्र फोटो पुनः राख्ने जनाएका थिए । धरान स्थापना दिवसको अवसरमा पुस २० देखि हुन लागेको कार्यक्रममा प्रधानमन्त्री आए पुनः फोटो राख्न समस्या नरहेको साम्पाङले बताएको भट्टराईले जानकारी दिए । शिलापत्रबाट

२०८० पुष १७, मंगलवार प्रकाशित 1 Minute 165 Views

ताजा समाचार