२०८१ चैत्र १३ बुधबार

कोशीबाट सिटौला, कोइराला, आचार्य र रिजालसहित ६३ जनाको नाम सिफारिस

विराटनगर । कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशबाट ६३ जनाको नाम केद्रीय समितिसमक्ष सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकमा नयाँ अनुहारलाई प्राथामिकता दिन दबाब बढिरहेका बेला प्रदेश समितिले पटक–पटक सत्तामा पुगेका र गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौला र सुजता कोइरालाको नाम पहिलो प्राथामिकतामा राखेर सिफारिस गरेको छ ।

प्रदेश समितिले उनीहरूको नाम मर्यादा र पार्टीमा रहेको भूमिकालाई आधार मान्दै पहिलो प्राथामिकतामा राखेको बताएको छ । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला गएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

त्यसैगरी कोइराला मोरङ क्षेत्र नम्बर २ बाट एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् । त्यसैगरी गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएका महेश आचार्य र मीनेन्द्र रिजालको नाम पनि दोस्रो प्राथामिकतामा सिफारिस गरेको छ । आचार्यको साविक क्षेत्र नम्बर ५ गठबन्धनमा माओवादी केन्द्रका अमनलाल मोदीले टिकट पाएपछि आचार्य चुनावी मैदानबाट बाहिरिएका थिए भने क्षेत्र नम्बर २ मा सुजताले टिकट पाएपछि अघिल्लो निर्वाचनमा विजयी रिजाल चुनावी मैदानवाट बाहिरिएका थिए ।

प्रदेश समितिले पुरुष खस आर्य र अन्यतर्फ सिटौलालाई पहिलो नम्बरमा राखेर ३८ जना र महिला खस आर्यतर्फ कोइरालालाई पहिलो नम्बरमा राखेर २५ जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी समितिले विराटनगरका चार उद्योगी व्यवसायीको नाम पनि राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस गरेको छ । समितिका अनुसार पवनकुमार सारडा, महेश जाजु, हसन अन्सारी र फूलकुमार लालवानीको नाम सिफारिस गरिएको छ । सारडा संविधान सभा सदस्य हुन् भने जाजु यसअघि राष्ट्रिय सभा सदस्यका उम्मेदवार थिए ।

प्रदेशका १४ जिल्ला मध्ये ९ जिल्लाबाट मात्र नाम सिफारिस गरेको समितिका महामन्त्री भुपेन्द्र राईको भनाइ छ । उनका अनुसार तेह्रथुम, खोटाङ, पाँचथर, ताप्लेजुङ र इलामवाट कसैको पनि नाम सिफारिस भएको छैन । इकान्तिपुर

२०८० पुष १५, आईतवार प्रकाशित 0 Minutes 322 Views

ताजा समाचार