काँकरभिट्टा, पुस १२ । पुर्वीे सिमावर्ती सहरलाई आकर्षक र सफा बनाउन सबै सरोकारवालाहरु एकजुट भएर लाग्ने भएका छन् ।
संकल्प अभियानले बिहिबार काँकरभिट्टामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै सरोकारवालाहरुले देशकै अनुहारको रुपमा रहेको पुर्वी प्रवेशद्वारलाई पर्यटक आकर्षित बनाउने गरी सुन्दर र सफा बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा संविधान सभाका सदस्य रविन कोइरालाले सार्थक अभियान शुरु भएको भन्दै पूर्वी बनाउन आफूपनि लागीपर्ने बताए ।
त्यस्तै, निवर्तमान मेचीनगर प्रमुख बिमल आचार्यले आफ्नो ठाउँलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीयस्तरबाट नै सहयोगको आवश्यकता रहने बताए ।
कार्यक्रममा सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले हरेक नागरिकले आफैबाट उदाहरण प्रस्तुत गरेर मात्रै परिवर्तन सम्भव हुने बताए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पुर्वी नाका व्यवस्थित गर्दै गर्दा नाकालाई कमजोर बनाउने गतिविधि गर्न नहुनेतर्फ सचेत हुनुपर्ने बताए । उनले सबैकुरा भारतमा गएर किनमेल गर्ने प्रवृत्तिले काँकरभिट्टासँगै पुर्वी नाकाकै व्यवसाय धरासाय बन्दै गएको बताए ।
अन्तरक्रिया कार्यक्रममा मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, देवन्द्र खरेल, मुकुन्द शिवाकोटी, राजु दाहाल, भुपाल शिवाकोटीलगायतले पुर्वी नाकालाई व्यवस्थीतसँगै तेस्रो देशका मानिस आउन भारतीय पक्षले गरेको अवरोध हटाउनसमेत संकल्प अभियानमार्फत पहल गर्न पनि आग्रह गरेका छन् । अभियानका संयोजक बिजय डालमियाले संकल्प अभियानले तत्कालका लागि पुर्वी प्रवेशद्वारलाई सुन्दर र सफा बनाउने बताए । डालमियाले अभियानले विभिन्न क्षेत्रको सकरात्मक बिषयलाई उठान गरेर देश विकासमा राज्य पक्षको सहयोगीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
संकल्प अभियानले कुनै काम गर्नका लागि रकम संकलन नगर्ने र खाना नपाउने र सम्भव भएसम्म लुगा लगाउन नपाउने अवस्थाबाट अप्ठ्यारो परेको अवस्था आउन नदिने र बेवारिसे अवस्था पर्न नदिने संकल्प लिएर अभियान शुरु गरेको संयोजक डालमियाले बताए । कुनै काम गर्नु र्दा सहयोगी महानुभावहरु र सरकारी निकायहरुसँग सहजीकरण गर्ने र उनीहरु मार्फत नै काम गराउने व्यवस्था गरिने र अभियानका तर्फबाट रकम लिने काम नगर्ने संयोजक डालमियाले बताए ।
काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्था, राजनितिक दल, सरकारी कर्मचारी र सुरक्षा निकायहरुसहित करिव ७० जनाको उपस्थीति रहेको थियो । इन्जिनियर विवेक श्रेष्ठले पुर्वी नाकाको अहिलेको अवस्था र अभियानले गरेको परिकल्पनाको प्रारुप थ्रीडि मार्फत प्रस्तुत गरेको कार्यक्रम अभियानका सदस्य दिपक पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो ।