
मेचीनगर । झापाको मेचीनगरस्थित संस्थागत विद्यालयहरुको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र प्रवेश दाहाल र छात्रा टीना कार्की सम्मानित भएका छन् । उनीहरुलाई नगरपालिकाले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
इष्ट होराइजन स्कुलका छात्र दाहालले कक्षा १२ को अन्तिम परीक्षामा ३.४८ र छात्रा कार्कीले ३.४० जीपीए ल्याएका थिए । त्यस्तै, सामुदायिकतर्फ धुलाबारी माविका अनुस खरेल र पवित्रा न्यौपाने उत्कृष्ट बनेका छन् । खरेलले ३.६५ र न्यौपानेले ३.७४ जीपीए ल्याएका थिए ।

नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी शैक्षिक संस्थाका उत्कृष्ट विद्यार्थीसहित शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विभिन्न संस्थागरी ९७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोह २०८० कार्यक्रममा नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयमा कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी मध्ये ४२, अवकाश प्राप्त शिक्षक १९, अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल कलब, कोशी प्रदेशमा सम्पन्न प्रतियोगितात्मक नृत्यमा सर्वोत्कृष्ट हुने र स्काउटबाट एक/एकजना, बाल शिक्षक ३, प्रधानाध्यापक ५, प्याब्सन र एनप्याब्सन, कक्षा १० र कक्षा १२ बाट चार/चार गरी कुल ९७ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो ।
नगर शिक्षा शाखाका अनुसार नगरभित्र १७ मावि, ११ निमाबि, १४ प्राथमिक, ४ वटा धार्मिक तथा ६० संस्थागत गरी कुल एक सय ६ वटा शैक्षिक संस्था रहेका छन् ।