२०८१ बैशाख २३ आईतवार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशीले सजिलै हरायो गण्डकी प्रदेशलाई

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशको यो चौथो जित हो । एक खेलमा भने कोशी पराजित भएको थियो । पाँच खेल खेलेको गण्डकी प्रदेशले भने चौथो हार ब्यहोरेको हो । एक खेलमा भने गण्डकी विजयी भएको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १५ ओभरमै अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि एक ब्याट्रले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमन खतिवडाले अविजित २१ रन बनाइन् । उनले २० बलमा तीन चौका पनि प्रहार गरिन् । गण्डकीका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर अञ्जली विश्वकर्मा आठ र सृजना पौडेल शून्य रनमै पेभेलियन फर्किए । ज्योत्सनिका मरासिनीले ६ र सृष्टी जैसीले एक रन जोडे । कप्तान कुशुम गोदार शून्य रनमै आउट भइन् भने सिमाना केसीले पाँच रन जोडिन् ।

रचना चौधरी शून्य रनमा आउट भइन् भने धन कुमारीले दुई रन बनाइन् । श्रेया शर्मा र आकृती तिवारीले पनि खाता खोल्न सकेनन् । गण्डकीले अतिरिक्त रुपमा पाँच रन पायो । कोशी प्रदेशका बलर रुविना क्षेत्रीले तीन तथा संगीता राई र एलिसा खडियाले पनि दुई–दुई विकेट हात पारे । अप्सरी बेगमले पनि एक विकेट लिइन् ।

त्यसअघि कोशी प्रदेशका माथिल्ला तीन ब्याटर दोहोरो अंकमा रन बनाउनुअघि नै पेभेलियन फर्किएका थिए । कप्तान रुबिना क्षेत्री चार, काजल श्रेष्ठ ६ र अप्सरी बेगम एक रनमा आउट भए । चौथो नम्बरका क्रिज समाल्न आएकी लकिता राजवंशीले २२ रन बनाइन् । उनले २८ बलमा चार चौका हिर्काइन् ।

विमला मलाहले पनि टोलीका लागि २५ रनको योगदान गरिन् । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेबारीपूर्वक खेल्दै ३७ बलमा दुई चौका हिर्काइन् । सानु राजवंशी एक र संगीता राईले अविजित २३ रन बनाए । संगीताले २६ बलमा दुई चौका पनि प्रहार गरिन् ।

सबनम राईले तीन रन बटुलिन् । निशा शाह शून्य रनमै पेभेलियन फर्किइन् । एलिसा खडिया एक रनमा अविजित रहिन् । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर कुशम गोदार र सृष्टी जैसीले दुई–दुई विकेट लिए । आकृती तिवारी, रचना चौधरी र सुमन खतिवडाले पनि एक–एक विकेट लिए । रातोपाटीबाट

२०८० पुष ११, बुधबार प्रकाशित 0 Minutes 103 Views

ताजा समाचार