२०८१ मंसिर २५ मंगलवार

राष्ट्रियसभामा सिटौलालाई उम्मेदवार सिफारिस गर्ने झापा काँग्रेसको निर्णय

बिर्तामोड । नेपाली काँग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ नगर सभापतिहरूको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा सभापति थेबेले सिटौलाको नाम प्रस्ताव गरेको थियो भने राम कट्टेलले समर्थन मन्तव्य राखेका थिए ।

नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर १० बर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत समाधानमा उल्लेखनीय योगदान पुर्‍याएका सिटौलाले संविधान मस्यौदा समितिको सभापति भएर नेपालको संविधान २०७२ निर्माणमा महत्त्वपूर्ण योगदान गरेका थिए ।

पार्टीको नीति, विचार, कार्यक्रम रणनीति निर्माण गर्न अन्य पार्टी निकायहरूसँग समन्वयात्मक भूमिका निर्वाह गरी पार्टीलाई प्रभावकारी ढङ्गमा स्थापित गराउन समेत भूमिका खेलेका सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।

यसैगरी बैठकले पार्टी केन्द्रीय समितिको मङ्सिर २९ गतेको बैठकले तय गरेअनुरूप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा काँग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा खटाइएका प्रतिनिधिहरूलाई सम्बन्धित वडामै अभियान सञ्चालनका लागि क्रियाशील गराउने निर्णय गरेको पार्टी सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

यसैगरी नेपाल लोकतान्त्रिक आदिवासी-जनजाति महासङ्घको आगामी पुस २१ गतेदेखि निरन्तर हुने वडा तहदेखिको चुनावी कार्यपालिका अनुसारको तहगत निर्वाचन सफल बनाउन वडामा खटिएका जिल्ला प्रतिनिधिहरुलार्ई यथास्थानमा सक्रियतापूर्वक खटिन आग्रह गर्दै बैठकले महासङ्घको चुनाव सम्पन्न गराउन सहयोग गर्न पार्टीका सबै तहगत सङ्गठनलाई आग्रह पनि गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

यसैबीच बैठकमा नेपाल लोकतान्त्रिक कानुन व्यवसायी संघको प्रदेश उपाध्यक्षमा निर्वाचित नारायण पौडेल र नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित घनश्याम चौधरीलाई खादा ओढाएर बधाई ज्ञापन गरिएको थियो ।

२०८० पुष ६, शुक्रबार प्रकाशित 1 Minute 196 Views

ताजा समाचार