२०८१ बैशाख २३ आईतवार

एनएसएल : चितवनसँग स्तब्ध झापा, प्ले अफ संकटमा

६ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा चितवन एफसीसँग २-० ले पराजित हुँदै झापा एफसी स्तब्ध भएको छ ।

चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापा स्तब्ध भएको हो । यो खेल जितेको भए झापाको प्ले अफमा स्वत छनोट हुने थियो । जितले उसको दोस्रो हुने समीकरण समेत बन्ने थियो ।

तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमै कामय छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

काठमाडौंले ललितपुर सिटीसित र वीरगञ्जले बुटवल लुम्बिनी एफसीसँग खेल्न बाँकी छ । यी खेलमा काठमाडौं र वीरगञ्ज दुवै पराजित भएमा मात्रै झापा चौथौ स्थानमै रहेर प्ले अफमा पुग्ने छ ।

झापामाथिको जितले चितवनको ८ खेलबाट ९ अंक भयो तर उसको अन्तिम ४ मा पर्ने संभावना यसअघि नै सकिएको थियो ।

चितवनलाई जिताउने क्रममा रफिकले ७ र ७७ औं मिनेटमा गोल गरेका थिए ।

झापाका अन्जन विष्टले ८२ औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए ।

२०८० पुष ६, शुक्रबार प्रकाशित 1 Minute 108 Views

ताजा समाचार