२०८२ बैशाख १२ शुक्रबार

मेचीनगरमा सुत्केरी पोषण भत्ता वितरण शुरु

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को सुत्केरी पोषण भत्ता वितरण कार्य यो मंगलबारबाट शुरु गरेको छ ।

मेचीनगर नगरपालिका, विपन्न परिवारका महिलाका लागि सुत्केरी पोषणभत्ता वितरण कार्यविधि २०७५ अनुसार नगरका १५ वटै वडामा सुत्केरी पोषणभत्ता वितरण गर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर वडा नम्बर ९ बाट सुत्केरी पोषण भत्ता वितरण कार्य शुरु गरिएको छ । वडा कार्यालयको सभाहलमा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशीलगायतले लाभग्राहीलाई सामग्री वितरण गरेका छन् । १ केजी नौनी घ्यू, १ केजी मह तथा गेडागुडीलगायतका सुत्केरीका लागि पौष्टिक आहार प्रदान गरिएको थियो ।

वडा नम्बर ९ मा बर्षा श्रेष्ठ, सुनिता कार्की, झरना परियार, शान्तकुमारी धमला, अनिता कट्वाल, कञ्चन गुरागाईं र मेनुका खड्का लाभग्राहीलाई ती सामाग्री वितरण गरिएको हो । विपन्न परिवारका सुत्केरीहरुबाट पोषणभत्ता प्राप्तिका लागि परेका निवेदनहरु माथि छलफल गरी पोषण भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम सिफारिस गर्न नगर प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले मनोनित गरेको कार्यपालिका सदस्यमध्येबाट २ जना महिला समितिको सदस्य रहने कार्यविधिमा उल्लेख छ । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

लाभग्राहीबाट प्राप्त निवेदन उपर छलफल, पोषणभत्ताको रकम सिफारिस, महिला प्रसुती सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालनका नीति तथा कार्यक्रम तयार गरी कार्यपालिका बैठकमा पेश गर्ने जस्ता काम कर्तव्य र अधिकार समितिलाई छ ।

छनोट गर्दा लाभग्राही मेचीनगर नगरपालिकाको स्थायीबासी हुनुपर्ने, विपन्न परिवारको हुनुपर्ने, निवेदकको दुईजना वा सो भन्दा कम सन्तान भएको हुनुपर्ने, नवजात शिशु स्वास्थ्य संस्थामा जन्मिएको र तोकिएको खोप लगाएको हुनुपर्ने, निवेदक वा सूचकले बालबालिकाको जन्मदर्ता जन्मिएको ३५ दिनभित्र गर्नुपर्ने, सुत्केरी पोषण प्राप्त गर्न ९० दिनभित्र नगरपालिकामा निवेदन पेश गरिसकेको हुनुपर्ने लगायतका प्रक्रिया रहेका छन् ।

निवेदन, नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, बालक/ बालिकाको जन्मदर्ताको प्रमाण पत्र तथा बसाईसरी आएको भए बसाई सराईको प्रमाणपत्र पोषण प्राप्तका लागि कागज पेश गर्नुपर्ने हुन्छ । यसअघि नगरपालिकाले प्रत्येक सुत्केरीलाई नगद रकम वितरण गरेको भएपनि यसको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि पछिल्लो समयबाट पोषणयुक्त खानेकुरा प्रदान गर्न थालिएको स्वास्थ्य शाखाले जनाएको छ ।

२०८० पुष ५, बिहीबार प्रकाशित 0 Minutes 255 Views

ताजा समाचार