२०८१ असार २९ शनिबार

राप्रपाद्वारा देशभर आन्दोलनको घोषणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। गत आइतबारदेखि सुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशभर आन्दोलन गर्ने घोषणा गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

बैठकले पुस, माघमा देशभर सभा र तयारीका काम गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए। फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्न निर्णय गरेको छ। आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको श्रेष्ठले बताए।

यस्तै बैठकले डा। धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ।

बैठकमा कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्यसमितिका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ। बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकले एनसेलको शेयर खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन गर्न माग गरेको छ। रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवम् युक्रेनको नियन्त्रणमा रहेका नेपालीको शीघ्र रिहाइको प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।

राप्रपाले बिग्रँदो अर्थतन्त्र, बेरोजगारी, आर्थिक मन्दी, युवा शक्तिको विदेश पलायन, भष्ट्राचारलगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्ने जनाएको छ। राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीका लागि दबाब सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको हो। खबरहबबाट

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 145 Views

ताजा समाचार