बागलुङ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् । सबैले मिसन-८४ भनिरहेको बेला उनले कसले जित्ने, हार्नेभन्दा देशले जित्ने योजना बनाउनुपर्ने बताए ।
कांग्रेसको बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन उद्घाटनमा आएका शर्माले कसले के गरे, गरेनन् भनेर आलोचना गर्ने भन्दा काम गरेर देखाउने बेला आएको बताए । ‘अहिले आलोचना गरेर देश बन्दैन, मिलेर काम गर्नुपर्छ,’ शर्माले भने, ‘राजनीतिक दलको अस्तित्व नभए फेरि देशमा अर्को अराजकता आउँछ ।’ उनले सबै दलका राम्रा कामलाई एकीकृत गरेर जान सके देश बन्ने बताए ।
उनले देश विकासका लागि युवा चाहिने बताए । ‘काम गर्ने जोश जाँगर भएका युवा विदेश पठाउने गरी राजनीति नगरौं, यही काम गर्ने अवसर दिऔं,’ उनले भने, ‘शीर्ष नेतृत्वले पनि यो कुरा बुझ्नुपर्छ ।’ पछिल्लो समय विदेसिनेको क्रमलाई युवा नेतृत्व र स्वदेशमै रोजगारका अवस्था सिर्जना गरेर मात्र रोक्न सकिने बताए । ‘कसले के नराम्रो गरेको थियो भन्ने छाडेर राम्रा कामको खोजी गरौं,’ शर्माले भने, ‘कांग्रेसले पनि अहिलेसम्म के गरेको छ समीक्षा गरेर जानुपर्ने छ ।’
गल्ती कमजोरीहरु सच्याएर अगाडि बढेमा नेपाली जनताले फेरि पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा साथ दिने उनले विश्वास व्यक्त गरे । उनले किसान र मजदुर हेरेर नीति तथा योजना बनाएर अगाडि बढेमा कांग्रेसले अझै जनताको विश्वास पाउने बताए ।
बीपी कोइरालाको नीति र कार्यक्रमलाई अझै पनि कांग्रेसले संस्थागत बनाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । ‘किसान, मजदुर र ग्रामीण जनताको भावना बुझेर योजना बनाऔं, सोही अनुसारको विकास गरौं,’ शर्माले भने, ‘हाम्रै पालामा विकासको उत्कृष्ट नमुना देखाउन सक्छौं ।’इकान्तिपुरबाट