२०८१ जेष्ठ ६ आईतवार

पत्रकार बास्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्ने धम्की

झापा । नेपाल पत्रकार महासंघ झापा, प्रेस सेन्टर नेपाल झापा र प्रेस चौतारी झापाको समाचारको विषयलाई लिएर बारम्बार पत्रकार ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार महासंघ, प्रेस सेन्टर र प्रेस चौतारीले मंगलबार अलग–अलग विज्ञप्ति जारी गर्दै झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बास्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड नगरपालिका ४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बास्तोलालाई पटक–पटक फोन गरेर अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्कीसम्म दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प भएको र त्यसलाई लत्त्याएर सञ्चारकर्मीलाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय भएको साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख छ । स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

२०८० मंसिर २६, मंगलवार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार