२०८१ जेष्ठ ६ आईतवार

मोरङ कारागारमा थुनुवाको रहस्यमय मृत्यु

कुटपिटपछि मृत्यु भएको हुनसक्ने आफन्तको आशङ्का

मोरङ । जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएको छ । उनको मृत्युपछि आफन्तले सत्य तथ्य छानबिनको माग गरेका छन् ।

पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार बेलुका झन्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय मृत्यु भएको भन्दै छानबिन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न माग राखेका छन् । भुजेलको शव पोस्टमार्टम हुन अझै सकेको छैन ।

भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भुजेललाई खबर गएको थियो ।

‘मामालाई भेट्न मङ्सिर १६ गते कारागारमा आएको थिएँ । त्यस दिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यस बेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासि बिहीबार मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो,’ उनले भनिन्, ‘मामा बिरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासि मृत्यु भएको खबर मात्र आयो ।’

मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शङ्कास्पद गएको गुनासो गरेका छन् ।

‘श्रीमानको मृत्यु भएको खबर सुनेपछि हस्पिटल आएका थियौँ । हस्पिटलमा पोस्माटर्मको लागि शव राखिएको रहेछ । हामीलाई शव हेर्न पनि दिइन । कतै श्रीमानलाई कारागारभित्र कुटपिटको कारणले पो मृत्यु भएको हो कि हाम्रो शङ्का छ,’ भुजेलकी श्रीमती रामकुमारी भुजेलले भनिन्, ‘शव हेर्न पनि नदिनु ? ढिलो गरी परिवारलाई खबर दिनु, केही दिन अगाडि मज्जासँग कुराकानी भएको श्रीमान्को एक्कासि कसरी मृत्यु भयो ? घटना रहस्यमय छ । घटनाको छानबिन गरिनुपर्दछ,’ उनले भनिन्, ‘न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।’

जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन समिति गठन गरेपछि मात्र पोस्टमार्टम गर्नुपर्ने मृतक परिवारको माग छ । ‘अहिलेसम्म शव बुझेका छैनौँ । हेर्न पनि दिएका छैनन् । कि त बेडमा हुनुपर्थ्यो, कि त बेडभन्दा तल हुनुपर्थ्यो  । किन मुर्दा घाटमा लगियो भनेर हामी भोली निवेदन दिने भन्ने सल्लाह गरेका छौँ,’ भान्जी एलिनाले भनिन् ।

कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पुरयाएको थियो । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, आफन्तलाई उक्त कुराको जानकारी पनि दिइएन । त्यही कारण उनको कोशी अस्पतालमै मृत्यु भयो । उनका आफन्तका अनुसार मृत्यु हुनभन्दा अगाडि भुजेल बेलाबेलामा पिसाब लाग्यो भन्दै शौचालय जाने गरेका थिए ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरी निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागारमा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदी बन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गर्छन् ।

यातना दिएका कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरू पनि छन् । आफन्तले भने पटक पटक पिसाब लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् ।

मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए ।

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेले मगरको उपचारको क्रममा मृत्यु भएको बताए । ‘साह्रै पेट दुख्ने र बान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौँ । उपचारको क्रममा मगरको मृत्यु भएको हो,’ उनले भने, ‘एक पटक मृतकका भान्जीलाई शव देखाएको पनि हो  ।

परिवारका सदस्य आए प्रहरीको रोहबरमा देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्वय गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरबाही नभएको उनको भनाइ छ । मोरङ कारागारमा शुक्रवारसम्म  ९४७ पुरुष र  ९५ महिला गरी १ हजार ४२ जना कैदी बन्दी रहेका छन् । रातोपाटीबाट

२०८० मंसिर २३, शनिबार प्रकाशित 0 Minutes 152 Views

ताजा समाचार