२०८१ जेष्ठ ६ आईतवार

बाहुनडाँगीमा प्रकृति पार्क बन्ने

झापा । हात्तीलाई पर्यटनसँग जोड्न झापाको मेचीनगरमा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर-४ बाहुनडाँगीस्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

हात्तीबाट प्रताडित बाहुनडाँगी क्षेत्रमा विगतदेखि नै मानव-हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको छ । तर, त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न भने खासै सकिरहेको छैन । फलस्वरूप अहिले पनि सीमावर्ती क्षेत्र बाहुनडाँगीबासी र जंगली हात्तीबीच द्वन्द्व निरन्तर चल्दै आइरहेको छ ।

स्थानीय सरकार मेचीनगर नगरपालिकाले निरन्तर आउने हात्तीलाई नेपाल प्रवेशमा रोक लगाउँदै मेची खोलामा हात्तीलाई पर्यटनसँग जोड्ने अभियान सुरू गरेको छ । सधैँ भारतबाट नेपाल प्रवेश गरी गाउँघरमा क्षति पुर्याउँदै आएका जंगली हात्तीलाई सिमानामा नै रोकी नेपालीहरूको सम्भावित क्षति न्यूनीकरण गर्नुका साथै हात्तीलाई पर्यटनसँग जोड्ने उदेश्यका साथ प्रकृति पार्कको अवधारणा ल्याइएको मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

मेची किनारमा प्रकृति पार्क निर्माणसँगै नेपालकै ठुलो राष्ट्रिय झण्डा, २२ धारा, चिल्ड्रेन पार्क, फुलबारी, विभिन्न किसिमका बत्ती जडान हुनेछ । ३२ लाखमा निर्माण हुने उक्त पार्कमा ५०-५० प्रतिशत कार्यक्रम अन्तर्गत मेचीनगरबाट १६ लाख तथा नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपीको १६ लाख बजेट विनियोजन भएको छ । उपभोक्ता मार्फत निर्माण हुने सो पार्क पुस मसान्तसम्ममा निर्माण सम्पन्न हुने वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकृति पार्क शिलान्यास कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्ष कार्की, वडा सदस्य नुरबहादुर कार्की, पवन बराइली, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिना, सहकारी अभियन्ता पोषककुमार दर्जी, तीर्थ नेपाललगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न सामाजिक तथा राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

२०८० मंसिर २१, बिहीबार प्रकाशित 1 Minute 309 Views

ताजा समाचार