२०८१ जेष्ठ ६ आईतवार

नगर अस्पतालबाट दुई दर्जनले लिए निःशुल्क प्रसुति सेवा

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा निःशुल्क नर्मल डेलिभरी (प्रसुति) सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गतेदेखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो ।

अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसँगै नर्मल डेलिभरी (प्रसुति) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुति हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिँदै आएको छ । झोेलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई-दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक-एक थान उपलब्ध हुन्छ ।

नगर अस्पतालले प्रसुति सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिए ।

अस्पतालले स्त्री तथा प्रसुति रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ ।

अस्पतालमा हाल दैनिक २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासँगै सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोप, रेबिज विरुद्घको खोप लगायतका सेवा उपलव्ध गराउँदै आएको छ । हाल दैनिक ३ सयजना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।

२०८० मंसिर २१, बिहीबार प्रकाशित 1 Minute 148 Views

ताजा समाचार