२०८१ जेष्ठ ६ आईतवार

मेचीनगरमा डोजर चल्यो : जमिन अतिक्रमण गरी बनाइएका टहरा हटाइयो

मेचीनगर । मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरू हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको हो ।

अभियानको सुरुवातमा नगरपालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकरभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरू हटाइएको नगरपालिकाले जनाएको छ । सडक अतिक्रमण गरी बनाइएको घर टहरा खाली गराउने नगरको निर्णय अनुसार नगरपालिकाको डोजर प्रयोग गरेर आजदेखि धमाधम घर–टहरा भत्काउन थालिएको प्यारीभिटा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले बताए ।

मेचीनगरले यस अघि सडक खाली गराउन सूचना समेत निकालेको थियो । अहिले सोही अनुरूप सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । कसैले अटेर गरे त्यसलाई कानुनी कारबाही अगाडी बढाउने जनाइएको छ ।

सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियानमा प्यारीभिटा बसपार्क व्यवस्थापन समिति अध्यक्ष घिमिरे, सदस्य सचिव माधव अर्याल, सदस्य सुरेन्द्र बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नगर प्रहरी, ट्राफिक प्रहरीलगायतको सहभागिता रहेको थियो ।

२०८० मंसिर २१, बिहीबार प्रकाशित 0 Minutes 254 Views

ताजा समाचार