२०८१ मंसिर २६ बुधबार

काँकरभिट्टा नाकाको अवस्था बुझ्दै उच्चस्तरीय प्रतिनिधि टोली

काँकरभिट्टा, १९ मंसिर । अन्तर्राष्ट्रिय व्यापारको अवस्था बुझ्न नेपाल फ्रेट फरवार्डस् एसोसिएसनले पूर्वी नाका काँकरभिट्टाको अध्ययन तथा अनुगमन गरेको छ ।

ब्यापार घाटा उच्च भइरहेको अवस्थामा अन्य मुलुकसँग आयात-निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने उदेश्य अनुरुप टोली पूर्वी नाका हुँदै भारत तथा बंगलादेश नाकाको अध्ययन तथा भेटघाट गर्न आएको हो । अहिले नेपालको व्यापार घाटा १४-१ रहेको सरकारी तथ्यांक छ । अर्थात आयात १४ प्रतिशत हुँदा निर्यात १ प्रतिशत मात्रै रहेको छ ।

एसोसिएसनको टोलीले मंगलबार काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी योजनाका बारेमा जानकारी गराएको छ । बिहान १० बजे मेची भन्सार कार्यालय आइपुगेको टोली बंगलादेशसँगको सीमा नाका फुलबारी र भारतको कलकतासम्म पुग्नेछ । ९ सदस्यीय टोलीमा उच्चस्तरीय प्रतिनिधि सहभागी छन् ।

मंगलबार नै टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले नेपालबाट सामान निर्यातमा हुने गरेको झन्झटिलो प्रक्रियाका विषयमा त्यहाँका प्रतिनिधिहरुसँग छलफल पनि गर्ने जनाएको छ । अध्ययनका क्रममा आएका सुझावलाई जस्ताको तस्तै टोलीले सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

अर्थ मन्त्रालय तथा वाणिज्य मन्त्रालयसँग छलफल गरी व्यापार घाटा कम गर्ने उदेश्य राखेर विगतदेखि नै एसोसिएसनले सहजीकरण गर्दै आएको छ । यसअघि सो टोलीले चीनसँग सीमान जोडिएका नाकामा अध्ययन गरेको थियो । अहिले दक्षिण नाकाको अवस्था बुझन् टोली पूर्वतिर आएको एसोसिएसनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिए ।

टोलीले व्यापार प्रवर्धन गर्ने, समस्या भएका नाका परिवर्तन गरी आयात तथा निर्यातमा सहजीकरण गर्ने एसोसिएसन अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । उनले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको समेत बताए ।

नाका अध्ययन तथा अनुगमन टोलीमा एसोसिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव ईश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह-कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिव अर्याल, सीता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहेका छन् । पत्रकार भेटघाट कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका कार्यवहाक प्रमुख गणपति कँडेल, भन्सार एजेन्ट शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

२०८० मंसिर १९, मंगलवार प्रकाशित 1 Minute 277 Views

ताजा समाचार