मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मेचीनगरकै ठुलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालन चुस्तदुरुस्त रुपमा अगाडी बढाउन जनप्रतिनिधि, क्रियाशील राजनीतिक दलका नेतृत्व तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।
काँकडभिट्टाको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क करिब दश वर्षपछि गत असोज महिना अर्थात् बडादसैँ अगाडीदेखि सञ्चालनमा ल्याएको हो ।
नेपालको पूर्वी नाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्यारीभिट्टामा बसपार्क निर्माण गरिएको हो । काँकडभिट्टाको बस टर्मिनलबाट लामो तथा छोटो दूरीका दैनिक सात सयभन्दा बढी बस सञ्चालन हुँदै आइरहेका छन् । बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । भविष्यको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो ।
अहिले झन्डै दुई सय बस एक पटकमा पार्किङ गर्न सकिने क्षमताको प्यारीभिट्टा बसपार्क मेचीनगर नगरपालिकाले विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । तर, त्यसलाई पुर्णरुपमा सञ्चालन गर्न अझै समस्या उत्पन्न भएपछि नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका व्यक्तिहरूसँग रायसहितको छलफल सम्पन्न गरेको छ ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा मेचीनगर परिसरमा सोमबार बिहान आयोजित छलफलमा कोशी प्रदेश सदस्य गोपाल तामाङ, विवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली काँग्रेस क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोख्रेल, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, रास्वपा क्षेत्रीय सभापति भीम कुवर, राप्रपा मेचीनगर सचिव विशाल बास्कोटा र जसपा मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रममा निवर्तमान प्रदेशसभा सदस्य राधा थापा, मेचीनगर निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्ती, खाद्य विश्लेषक दीपेन्द्र कार्की, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, प्यारीभिट्टा बसपार्क टर्मिनल व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरे, सचिव माधव अर्याल, रास्वपा मेचीनगर सभापति कमल गौतम, लगायत मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।