२०८० फाल्गुन १९ शनिबार

झापा लिगमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरू सुरु हुने भएका छन् ।

नकआउट चरणमा आठवटा पालिका पुगेका छन् । नकआउट चरणका खेलहरू क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।

खेल तालिका अनुसार पहिलो क्वार्टर फाइनल खेल आज बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल आजै झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

लिग चरणमा एउटा समूहबाट विजेता र उपविजेता हुँदै टिम नकआउटमा प्रवेश गरेका हुन् । समूह क बाट बुद्धशान्ति र बिर्तामोड, समूह ख बाट झापा र गौरादह, समूह ग बाट मेचीनगर र भद्रपुर तथा समूह घ बाट अर्जुनधारा र शिवसताक्षी क्रमशः विजेता र उपविजेता बन्दै क्वार्टर फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

२०८० मंसिर १९, मंगलवार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार