२०८१ बैशाख २६ बुधबार

इलामका मोक्तान रुस–युक्रेन युद्धमा मारिए

इलाम । इलाम नगरपालिका-९ गोलाखर्कका ३३ वर्षीय गंगाराज मोक्तान रुस गएको दुई महिना पनि पूरा भएको थिएन । गत अक्टोबर ३ मा उनी दुबईबाट गैरकानूनी रुपमा रुस गएका थिए । सेनामा भर्ना हुन गएका मोक्तानसहित चार नेपालीले युक्रेन–रुस युद्धमा परी ज्यान गुमाए  ।

पहिला सशस्त्र प्रहरी रहेका मोक्तानले विगत चार वर्षदेखि दुबईमा वेटरको काम गर्दै आएका थिए । राम्रो आम्दानी हुने देखेर रुस गएका उनले राम्रो काम पाएनन् । उनले युद्धमा प्रत्यक्ष सामेल हुनुपर्यो । रुसको अप्ठ्यारो ठाउँमा आफू आइपुगेको र काम गर्न गाह्रो परिरहेको मोक्तानले परिवारलाई जानकारी दिएका थिए । ‘गंगाराजले हप्ता हप्ता दिनमा परिवारलाई रुसबाट फोन गरिरहनु भएको रहेछ’ श्रीमती याङ्की शेर्पालाई उद्धृत गर्दै वडाध्यक्ष गोपाल चौहानले भने,‘ रुसबाट गंगाराजले फोन गर्न मिल्ने तर , नेपालबाट फोन गर्न नमिल्ने खालको रहेछ ।’ वडाध्यक्ष चौहानका अनुसार आफू अप्ठ्यारोमा परेको कुरा गंगाराजले परिवारलाई फोनमा जानकारी गराइसकेका थिए ।

गंगाराजको रुसमा मृत्यु भएको खबर चार दिनअघि आइपुगेको वडाध्यक्ष चौहानले बताए । राहदानी नं ०९२००७५१ भएका गंगाराज रुसको युद्धमा मारिएको कुरा पुष्टि भइसकेको छ । वडाध्यक्ष चौहानले गंगाराजको शव नेपाल झिकाउनका लागि परराष्ट्र मन्त्रालय , वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभागलाई आग्रह गरिएको जानकारी दिए । मृतक गंगाराजका श्रीमती र ८ वर्षका एक नाबालक छोरा रहेको छिमेकी विशाल तामाङले बताए । उनले जसरी पनि गंगाराजको शव नेपाल झिकाइदिन परिवारले हारगुहार गरिरहेको जानकारी दिए ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार रुस–युक्रेन युद्धमा मृत्यु हुनेमा गंगाराजसंगै स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । कार्की र रोक्काले नेपाली सेनामा काम गरिसकेका थिए ।

२०८० मंसिर १३, बुधबार प्रकाशित 1 Minute 130 Views

ताजा समाचार