२०८१ बैशाख २६ बुधबार

गजुरमुखी धाममा पूर्णिमा मेला सुरु

इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन आइतबर बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ ।

धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पालगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ ।

मेलाको अवसरम आयोजित गजुरमुखी धाम गोल्डकपको सेमिफाइनल खेल समेत भएकाले चहलपहल बाक्लिन थालेको छ । मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल र सांस्कृतिक कार्यक्रम तय गरिएको छ । गजुरमुखी धाम गोल्डकपको फाइनल सोमबार दिउँसो हुनेछ । साँस्कृतिक कार्यक्रम सोही दिन साँझ हुनेछ ।

साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन(५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।

गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा सुरु भएको मेला मंगलबारसम्म लाग्नेछ । गजरमुखी धाममा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भूभागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, कालेङबुङ, आसामलगायत स्थानबाट भक्तजनहरु आउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

गजुरमुखी धाम पुग्न इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर सडक यात्रा गनुपर्छ । मेची लोकमार्ग अन्तरगत नेपालटार(मंगलबारे(धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ(चतुरे(इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् । लोकलसन्देशबाट

२०८० मंसिर ११, सोमबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार