
झापा । बालबालिकाको पोषण, बालविवाह, बालबालिका विरुद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो ।
संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको ३३ वर्ष पूरा भयो । २०४७ साल भदौ २९ गते (सेप्टेम्बर १४, १९९०) विनाशर्त अनुमोदन गरी बालअधिकार सुनिश्चिताका लागि प्रतिबद्धता जनाएको थियो । सोहीअनुरुप महासन्धिका ४२ धारा सबै कार्यान्वयनमा छन् । नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रुपमा सुनिश्चित गरी बालबालिकाको सर्वोत्तम हितलाई राज्यको नीतिका रुपमा व्यवस्था गरेको छ । सो महासन्धिका प्रावधानअनुरुप नेपालले संविधान, कानुन, नीति, योजना, संस्थागत संयन्त्र र कार्यक्रममा सुधार गर्दै बालअधिकार सुनिश्चित गर्ने दिशातर्फ अग्रसर भइरहेको छ ।

सरकारले बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिताजस्ता विषय सम्बोधन गर्दै आएको परिणामस्वरुप उक्त महासन्धिमा नेपालले अनुमोदन गरेको समयका तुलनामा आजको समयमा बालबालिका सम्बन्ध विभिन्न समष्टिगत सूचकमा उल्लेख्य सुधार आएको हो ।