२०८१ जेष्ठ ५ शनिबार

झापा लिग : कमल र झापा गाउँपालिका विजयी

झापा । मेची रंगशाला भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन्। भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिबार भएको खेल जितेसँगै कमल र झापाले तीन तीन अंक जोडेका छन् ।

पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो। खेलको ११ औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल गरे। त्यस्तै, खेलको ५९ औँ मिनेटमा युनिस मगरले अर्को गोल थपे। दमकका सञ्जय धिमालले ७२ औँ सान्त्वना गोल फर्काए। खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर भए। उनलाई नगद दुई हजार र ट्रफी प्रदान गरे।

यसैबीच, शनिबार भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो। झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हरायो। जारी लिगमा यो नै ठुलो गोल अन्तरको जित हो।

झापाको तर्फबाट खेलको १९ औँ मिनेटमा मर्गुस किस्कू, ३२ औँ मिनेटमा कप्तान मिलन ताम्ली र ५४ औँ मिनेटमा किरण लिम्बूले गोल गरे।

खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए। उनलाई नगद दुई हजार र ट्रफी प्रदान गरे। आइतबार हुने पहिलो खेल हल्दिबारी गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाबीच हुनेछ। दोस्रो खेल मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

२०८० मंसिर ९, शनिबार प्रकाशित 0 Minutes 149 Views

ताजा समाचार