२०८१ चैत्र २ शनिबार

उर्लाबारी आगलागी घटना : घाइतेलाई थप उपचारको मागसहित चक्काजाम

उर्लाबारी आगलागी घटनाका गम्भीर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम गरिएको छ। गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयवासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन साङ्केतिक रुपमा १० मिनेट चक्काजाम गरेको उर्लाबारी वडा नं. ७ का सरोज बस्नेतले जानकारी दिए।

‘पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारीसाधन अवरुद्ध गराएर सरकारको ध्यानाकर्षण गराउन खोजिएको हो’ उनले भने, ‘घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ, उहाँहरूको अवस्था गम्भीर रहेको कुरा डाक्टरबाट आएको छ। त्यसैले थप उपचार होस्।’

कार्यक्रममा उर्लाबारीका सामाजिक व्यक्तित्व बिरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारीलगायतले बोल्दै गम्भीर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका छन्। इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापन पत्रसमेत बुझाइएको उर्लाबारी– ७ का टिका सिम्खडाले जानकारी दिए।

आइसियुमा उपचाररत उर्लाबारी– ७ का शिवकुमार विक (राजीव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र राम नरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ। अन्य घाइतेहरूको समेत अवस्था हेरी थप उपचारका लागि भारतलगायत विभिन्न मुलुकमा लैजाने व्यवस्था मिलाउन आग्रह गरिएको छ।मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइदिन पनि सबै पक्षसँग आग्रह गरिएको सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

२०८० मंसिर ७, बिहीबार प्रकाशित 0 Minutes 198 Views

ताजा समाचार