काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) को १२ औं वार्षिक साधारणसभा बिहिबार (आज) मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ ।
कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २० जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो ।
संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षतामा साकोसका सल्लाहकार संयोजक अंगतबहादुर थापाको प्रमुख आतिथ्यमा काँकरभिट्टामा अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न गरिएको हो । सो कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि थापांले नेपालको सहकारी अभियानले हाम्रो समाजमा सकारात्मक आर्थिक टेवा पुगिरहेको बताए । आधुनिक साकोसमा सक्षम सञ्चालक र लगनशील कर्मचारीहरु रहेकै कारण निरन्तर प्रगतिपथमा रहेको भन्दै संस्थापक अध्यक्षसमेत रहेका थापाले सहकारीको ऋण तिर्न पर्दैन भनी हिंड्नेहरुसँग सजग र सचेत रहन अभियानलाई आग्रह गरे ।
अन्तिम माइन्युट प्रमाणित साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले २०६८ सालमा स्थापना गरिएको आधुनिक साकोसले १३ वर्षको अवधिमा ५ वटा सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । उनले ४७ जनाले सुरु गरेको संस्थामा गत असार मसान्तमा ८ हजार ५१० जना सेयर सदस्यहरु पुर्याइएको जानकारी गराए ।
सो माइन्युट प्रमाणित साधारणसभामा विशिष्ट अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै उपाध्यक्ष युवराज भट्टराईले सहकारी ऐन एवम् मापदण्ड तथा नियामक निकायको निर्देशनलाई ध्यान दिएर छानिएर आएका प्रतिनिधिहरु बीच माइन्युट प्रमाणित साधारणसभा गर्नुपरेको बताए । तरलता अभावको कठिन मोडमा पनि आधुनिक साकोसले आफ्ना सेयर सदस्यहरुलाई माग गरेको समयमा बिलम्ब नगरी कर्जा उपलब्ध गराएको स्मरण गराउँदै उपाध्यक्ष भट्टराईले सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मका सुख दुखमा आधुनिक पुग्ने गरेको पनि अवगत गराए ।
कार्यक्रमका प्रमुख अतिथि अंगतबहादुर थापा, विशिष्ट अतिथि मेदनीप्रसाद खरेल, विषेश अतिथि खगेन्द्र उप्रेतीलाई संस्थाका अध्यक्ष थापा, उपाध्यक्ष भट्टराईद्वारा मायाको चिनो प्रदान गरेका थिए ।
संस्थाको ५ वटा सेवाकेन्द्रहरु मध्ये बिर्तामोडमा रहेको सेवा केन्द्रका प्रमुख प्रियाङ्का उप्रेती र काँकरभिट्टा सेवा केन्द्रका बजार प्रतिनिधि तारा खत्रीलाई संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा मायाको चिनोसहित प्रशंसापत्र प्रदान गरिएको हो ।
सो माइन्युट प्रमाणित साधारणसभा समारोहमा विशिष्ट अतिथि संस्थाका सल्लाहकार सदस्य मेदनीप्रसाद खरेल र खगेन्द्र उप्रेतीले आ-आफ्ना धारणा राखेका थिए । साधारणसभा समारोहको सञ्चालन संस्थाका सचिव भिमप्रसाद लम्सालले गरेका थिए ।