२०८१ बैशाख २२ शनिबार

पेटको बोसोका कारण हुन सक्छ डिमेन्सिया र अल्जाइमर

 काठमाडौँ । पेटको भित्रपट्टी लुकेर बसेको बोसोले स्मरण शक्ति सम्बन्धी रोगहरू डिमेन्सिया र अल्जाइमर निम्त्याउने पाइएको छ । हिडन बेली फ्याट अर्थात् कलेजो, आन्द्रा जस्ता महत्त्वपूर्ण अंग आसपास बेरिएर बसेका बोसेले शरीरमा गराउने इन्फ्लेमेशनको सम्बन्ध अल्जाइमरको शुरुवाती चरणसँग रहेको हालै भएको नयाँ अध्ययनले देखाएको छ । अध्ययनका अनुसार व्यक्तिमा अल्जाइमरको लक्षण सुरु हुनुभन्दा दसकौँ अघिदेखि नै बोसोले असर देखाउन थालिसकेको हुन्छ ।

‘बोसो लागेर पेट जति ठुलो बन्दै जान्छ त्यति नै मस्तिष्कमा स्मरण केन्द्र पनि नै कमजोर हुँदै जान्छ भन्ने त हामीलाई पहिलादेखि नै थाहा थियो,’ अल्जाइमरसम्बन्धी अनुसन्धान गरिरहेका डा. रिचर्ड आइज्याकसनले भने । नयाँ अध्ययनले भने न्यूरोइन्फ्लेमेशनले दिमागमा पार्ने असर देखाएको अनि आफूले यस अघि यस्तो कहिले नदेखेको उनको भनाइ छ । पेटको बोसोले इन्फ्लेमेटरी कास्केडमार्फत मस्तिष्कको काम गर्न सक्ने क्षमतालाई प्रभावित पार्ने ब्रेन इमेजिङले देखाएको पनि उनले बताए ।

पेटमा लुकेको बोसो अत्यधिक भएका ४० देखि ५९ वर्षबिचका व्यक्तिहरूमा अल्जाइमर्स उत्पन्न हुने दिमागको हिस्सामा एमिलोएड नाम गरेको असामान्य प्रोटिनको मात्रा उच्च हुने अध्ययनले देखाएको छ । मस्तिष्कमा बेटा एमिलोएड प्लाक्स भेटिनु भनेको अल्जाइमर्सको संकेतमध्ये एउटा हो । रोगको लक्षण बढ्दै जाँदा पछि टाउ नामक प्रोटिन पनि देखिन थाल्छ ।

महिलाको तुलनामा पुरुषमा पेटको बोसो र एमिलोएडको अल्जाइमर्ससँगको सम्बन्ध गहिरो भेटिएको वाशिङ्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनमा रेडियोलोजीका सहायक प्राध्यापक डा. साइरस राजीले बताएका छन् । यसको कारण महिलाको तुलनामा पुरुषमा पेटको बोसो धेरै हुनु भएको उनको भनाइ छ । न्यूरोन्समा क्षति एवम् न्यूरोन्सबीचको कनेक्शनमा कमी (ब्रेन एट्रोफी)को पेटको बोसोसँग पनि सम्बन्ध रहेको पनि पाइएको छ । ब्रेन एट्रोफी पनि अल्जाइमर्सको अर्को संकेत हो ।

राम्रो कुरा चाहिँ के हो भने पेटको बोसो सहजै घटाउन सकिन्छ । पेटको बोसालाई सजिलै मेटाबोलाइज र बर्न गर्न सकिने भएकोले स्वास्थ्यकर भोजन र व्यायामको सहायताले नै यसलाई कम गर्न सकिन्छ । दिनमा ६ घन्टाभन्दा कम समय सुत्नेको मस्तिष्कमा एमिलोएडको स्तर निकै धेरै पाइन्छ । त्यसैले हरेक दिन पर्याप्त मात्रामा निदाउनुस् ।

बियरले पेट लाग्छ भन्ने मान्यता छ । तर बियरले मात्रै होइन हरेक प्रकारका रक्सीजन्य पेयले पेटको बोसो बढाउने विज्ञहरूले बताएका छन् । हरेक खालको मदिराको सेवन कम गर्ने, अति प्रशोधित खानेकुराको सेवन पनि कम गर्ने र  गुलियोको पेयको सट्टामा पानी पिउँदा हितकर हुन्छ। यसैगरी प्रशोधित मासुको उपभोग सीमित पार्न पनि विज्ञहरुले सुझाव  दिएका छन् । रातोपाटीबाट

२०८० मंसिर ६, बुधबार प्रकाशित 0 Minutes 174 Views

ताजा समाचार