२०८० फाल्गुन १८ शुक्रबार

ऋण तिर्न किड्नी बिक्रीमा

‘मेरो किड्नी बिकाउमा छ। कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले मैले किड्नी बेच्न खोजेको हो। नेपाल सरकारसँग पनि मेरो अनुरोध नरोक्नका लागि। ब्लड ग्रुप ‘ए’।’

पूर्वीनवलपरासी कावासोती–१३ बुढौली कुनाका ३८ वर्षीय टकबहादुर परियारले गाउँका बिजुलीका पोल र सार्वजनिक स्थलमा आफ्नो फोन नम्बरसहित यस्तो पम्पलेट टाँसे। ऋणको भारले थिचिएको भन्दै उनले ‘किड्नी बिक्री’का लागि राखेको सूचना सामाजिक सञ्जालमा पनि भाइरल भयो।

सम्पत्तिका नाममा परियारसँग केही छैन। दुई कठ्ठा घोला खेत (पानी जम्ने) छ। उब्जनी हुँदैन। पाँच धुरमा काठको खावा र टिनले छाएको कच्ची घर छ। तर, जग्गा ऐलानी हो। घरको खावा र टिन पनि पुराना भएर वर्षामा पानी चुहिने र जाडोमा चारै तिरबाट चिसो आउने गरेको उनले बताए।

किन लिए यस्तो निर्णय ? 

पेट पाल्न केही नभएपछि परियारले साढे ३ वर्षअघि फाइनान्सबाट ऋण लिए। ‘छोटा हात्ती’ अर्थात् (मालसामान बोक्ने पिकअप गाडी) १० लाखमा किने।

गाडीबाट आउने भाडाले ब्याज तिर्न र जेनतेन घर खर्च चलेकै थियो। गाडी भाडामा दिन भन्दै उनलाई विभिन्न व्यक्तिले फोन गर्थे। कहिलेकाहीँ गाडी भाडामा दिनुपर्‍यो भन्दै महिलाको पनि फोन आउँथ्यो। तर, महिलाको फोन आउन थालेपछि श्रीमतीले ‘अर्कोसँग लागेको’ भन्दै शंका गर्न थालिन्। ‘श्रीमतीसँग सम्बन्ध राम्रो भएन। त्यसपछि घर बिग्रनुभन्दा विदेश जाने निधो गरे’ उनले भने, ‘केही पैसा जोहो गरेर विदेश लागे।’ त्यस बेलासम्म गाडीको ४ लाख ऋण बाँकी नै थियो। उनी विदेश जाने भनेर हिँडेपछि श्रीमतीले २ लाखमा उक्त गाडी पनि बेचिदिइन्।

विदेश गएर टन्न कमाउने सोच बनाएका परियारका लागि विदेश यात्रा पनि सहज भएन। ‘फ्रि टिकट र फ्रि भिसा’ भनिए पनि दुबई जान १५ हजार तिरे। ऋण काढेर तीन वर्षअघि दुबई पुगे। तर, त्यहाँ पनि उनका लागि सुखद् भएन। तीन चार महिना काम गर्दा पनि कम्पनीले तलब दिएन। त्यसपछि उनले दुबईमा अर्को कम्पनीमा काम खोज्न थाले। बल्लतल्ल मासिक ५० हजार जति कमाइ हुने कम्पनीमा काम पाए।

त्यसपछि उनले घरमा पैसा पठाउन थाले। तर, उनको सबै ऋण चुक्ता भएन। आफू विदेश गएपछि घरबाट श्रीमतीले जहिले पनि ऋणको कुरा गर्ने र म पनि विदेश जान्छु भन्न थालिन्। ‘म विदेश मै थिएँ। श्रीमतीले तिमीले ऋण तिर्न सक्दैनौं, म पनि विदेश जान्छु नाता प्रमाणित गर्देउ भनेपछि छोरालाई भनेर नाता प्रमाणित गरिदिए’, परियारले भने।

त्यसबीच एक एजेन्टमार्फत उनले श्रीमतीलाई भिजिट भिसामार्फत दुबईकै एक ब्युटिपार्लरमा काम खोजिदिए। तर, श्रीमती कुवेत उडिन्। श्रीमती कुवेत गएको ५ महिना भयो, तर सम्पर्कविहीन छिन्। श्रीमतीले फोन र अन्य सामाजिक सञ्जालमा आफूलाई ‘ब्लक’ गरेको परियारले बताए। ‘दसैं र तिहारमा ममीको फोन आउँछ भन्दै छोराहरूले आस गरेका थिए। तर, फोन आएन,’ उनले भने, ‘छोराहरूको चाडपर्व पनि आफ्नो ममीको फोनकै आसमा बित्यो।’ दसैंको केही अघि मात्रै उनी गाउँ फर्केका थिए।

तीन वर्ष विदेशमा दुःख गरे पनि उनी ऋणबाट मुक्त भएनन्। गाडी किन्न लिएको र अन्य व्यक्तिको गरी करिब ८ लाख रुपैयाँ ऋण रहेको उनले बताए। स्वरोजगार बैंकबाट निकालेको २ लाख ५० हजारको मासिक १४ हजार ५ सय किस्ता उनले तिर्नुपर्छ। छिमेकी बैंकबाट निकालेको २ लाखमध्ये ५० हजार तिर्न बाँकी छ। स्थानीय सहकारीलाई ५० हजार र अन्य छिमेकीसँग ५० हजारदेखि डेड लाखसम्म ऋण लिएका छन्। सबै गरी करिब ८ लाख ऋण बाँकी रहेको उनले बताए।

ब्याजमा लिएको ऋणको ३/४ वर्षदेखि ब्याज तिर्न नसक्दा ऋण चुलिँदै गएको परियारले दुःखेसो पोखे। ‘ब्याज र साँवा बुझाउनुपर्‍यो भन्दै घरमा मान्छे आउँछन्,’ उनले भने, ‘कमाई एक रुपैयाँ छैन। सम्पत्ति केही छैन। कसरी ऋण तिर्न सक्छु।’

ऋणबाट मुक्त हुनैका लागि आफूले किड्नी बेच्ने विकल्प रोजेको उनले बताए। ‘किड्नी बेच्ने रहर त कसलाई होला ?’ उनले भने, ‘बाध्य भएर यस्तो निर्णय लिए।’ यतिमात्र होइन, गत वर्ष खेत जोत्दा लागेको २ हजार ऋण नदिँदा गत साता घरका ३ वटा हाँस उठाएर लान्छु भन्दै साहु घरमा आएको पनि उनले दुःखेसो पोखे। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

२०८० मंसिर ६, बुधबार प्रकाशित 0 Minutes 231 Views

ताजा समाचार