२०८१ श्रावण ८ मंगलवार

झापा हल्दिबारी घर भएका प्रहरी हवल्दार सप्तराज राई मृत फेला

झापा । हल्दिबारी घर भएका नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन् । हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी अन्दाजी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा  झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर हिजो सोमबार साँझ घर फर्किएका थिए । घर आएका उनले अत्यधिक मदिरा सेवन गरी राती परिवारसँग झैझगडा गरेको छरछिमेकीहरु बताउँछन् ।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राती उनी आफ्नो सुत्ने कोठामा फलामको बलोमा खादा (कपडा)को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान श्रीमतीले श्रीमान् झुन्डिएको अवस्थामा देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेका थिए ।

मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

२०८० मंसिर ५, मंगलवार प्रकाशित 1 Minute 139 Views

ताजा समाचार