झापा । भारतले नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ । भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो । यसअघि भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण बजारमा चिनी अभाव भएको थियो ।
विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो । ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको थियो । तर, अब यो आयातको कोटामा खुलाएको २५ हजार मेट्रिक टनले बजारमा अहिलेलाई गर्जो टर्ने देखिएको छ ।
यो कोटाको चिनी आउनासाथ यसले अबको ३ महिना धान्ने बताइएको छ । यसपछि नेपालमै चिनी क्रसिङ हुन लागेकाले नयाँ चिनी आन्तरिक बजारमै आउने भएकाले अब बजारमा अभाव नहुने पनि अधिकारीहरु बताउँछन् । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ । नेपाल भित्रै १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ ।
५० प्रतिशत जतिमात्रै आन्तरिक उत्पादनले धान्छ । यसपछि बाँकी ५० प्रतिशत आयात नै गर्नुपर्छ । तर, पछिल्लो समय भारतबाट आयात नहुँदा आपुर्ति श्रृंखला बिग्रिएकाले असहज स्थिति आएको थियो । चिनी अभाव हुँदा कालोबजारीले चिनीको मूल्य बढेको थियो । यसैबीच पर्वहरुमा चिनीको अभाव हुन नदिने गरी तयारी भइरहेको सरकारले जनाएको छ । भारतले चिनी दिएर चाडपर्व गुलियो बनाइदिने भएको छ ।
संघले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह गरिएको छ । संघले उपलब्ध गराएको चिनी पाइने सूचना हरेक पसलमा टाँस गर्न पनि आग्रह गरिएको छ । यस्तै हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय पनि गरेको थियो ।
बैठकले अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो । बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढंगले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको थियो ।