१ मंसिर, तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्षमा पुगेका छन् ।
शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ ।’

जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहोयाउँदै त्यसलाई एकतावद्ध भएर परास्त गरिने समेत बताए । ‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन् । केही तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षडयन्त्रमा लागेका छन्,’ उनले भने, ‘१२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।’
आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको उनले बताए । यद्यपि दबाबमुक्त भने भनइसकेको जानकारी गराउँदै उनले अर्थतन्त्र सुधारका उपाय खोज्न आगामी चार गते वृहत बैठक बोलाएको जानकारी गराए ।
उक्त बैठकले ठोस प्याकेज घोषणा गर्ने उनले बताए । ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’
अहिलेको सरकारले देश र जनताका पक्षमा महत्वपूर्ण कामहरू गरेको उनले बताए । उनले भ्रष्टाचारका फाइल खोल्ने क्रम नरोकिने समेत बताए । ‘भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



