२०८१ चैत्र ४ सोमबार

नियमन गर्न छोडेर सरकारले किन बन्द गर्‍यो टिकटक ?

काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै यसको चर्काे विरोध भइरहेको छ ।  कात्तिक २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको केही दिनअघि कात्तिक १७ गते सरकारी अधिकारी र टिकटकको सिंगापुरस्थित कार्यालयका ६ जना प्रतिनिधिबीच टिकटकको नियमन एवम् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृहमन्त्रालय र नेपाल प्रहरीको साइबर ब्यूरोले टिकटकका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा नेपालमा सामाजिक एवं धार्मिक सद्भाव भड्काउने, अनैतिक र अपाच्य हुनेखालका कन्टेन्ट हटाउनका लागि टिकटकले व्यवस्था गर्नुपर्ने माग सरकारी अधिकारीले राखेका थिए ।

उक्त छलफलबारे जानकार गृह मन्त्रालय स्रोतले टिकटकले सबै कन्टेन्टलाई अपलोड हुन नदिएर ‘करेक्सन’ वा ‘फिल्टर’ गरेर मात्रै पहुँच दिनुपर्ने माग अधिकारीहरुको थियो ।

“अश्लिल, सद्भाव भड्काउने जस्ता जथाभावी कन्टेन्ट यो राख्ने, यो नराख्ने भनेर करेक्सन गर्न टिकटक तयार थिएन । उसले हाम्रा सीमाहरूलाई ध्यान दिन नसक्ने भएपछि जे राख्यो त्यो ‘ओके’ हुने भयो । त्यसपछि तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय भएको हो,” गृह मन्त्रालय स्रोतले भन्यो ।

नेपाल प्रहरीमा आईटी हेर्ने एक उच्च अधिकारीले टिकटकको टोलीसँग नियमनका विषयमा कुराकानी भएको बताए ।  नेपालमै कार्यालय खोल्नुपर्ने, सरकारले डाटामा पहुँच पाउनुपर्ने जस्ता विषय सम्बोधन हुन नसकेको ती अधिकारीको भनाइ छ ।

२०८० कार्तिक ३०, बिहीबार प्रकाशित 0 Minutes 198 Views

ताजा समाचार