
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ ।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो।

पुसको जाडोमा पीडितहरुको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिरभित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताए।
उनले स्थायी रुपमा सिकाई केन्द्रहरु बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए। महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि अवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताए।
टोलीले अस्थायी आवास निर्माणका लागि जनशक्तिको अभाव पूर्तिका लागि सरकारले राजनीतिक दलहरु र संघ, संस्थाहरुसँग मिलेर काम गर्नुपर्ने पनि औंल्याएको छ।
महामन्त्री थापाले भने, ‘अब जाडो शुरु भइसकेको छ। अस्थायी टहरा बनाउने काम त्यहाँ करिव करिव ५०÷६० हजार बनाउनु पर्नेछ। किनकी त्यति धेरै घरहरु बस्न नमिल्ने अवस्थामा छन। त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिना भित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन। र, यसले यति ठूलो भयावहस्थितिको सृजना गर्छ। त्यसका लागि अस्थायी टहरा बनाउने कुरा अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा छ। यो अस्थायी टहरा बनाउने कुरा कस्तो गर्न सकिन्छ भनेर हामीले आफैँले गएर हेर्नुपर्छ भनेर हामीले जाजरकोटको दुई ठाउँमा नलगाड र खलंगामा दुईवटा स्थायी टहरा हामीले २ दिन बसेर दुईवटा अस्थायी टहरा बनाएर हेर्यौँ। २ जना दक्ष जनशक्ति, २ वटा अर्धजनशक्ति र ६÷७ जना सहयोगी हातहरु हुँदै गर्दा त्यहाँको भत्केकै घरको सामग्री हामीले प्रयोग गर्यौँ। हामीले केही सामग्रीहरु बजारबाट किन्यौं। त्यो बजारबाट किनेको सामग्री र त्यो मिष्त्रीलाई दिने श्रमको रुपैयाँ जोडदै गर्दाखेरी ४० हजार रुपैयाँभन्दा कममा करिवकरिव ३४-३५ हजार रुपैयाँको सेरोफेरोमा ६ घण्टा भित्रमा एउटा अस्थायी २ कोठे टहरा बनाउन सकिने रहेछ।’
टोलीले पीडितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि मंसीरको पहिलो हप्ताबाट पार्टीका नेता, कार्यकर्ता परिचालन गर्ने पनि प्रधानमन्त्री दाहाललाई जानकारी गराएको छ।
महामन्त्री थापाले स्वास्थ्य संस्थाहरु अस्थायी रुपमा बनाउने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताए। त्यसैगरी, राहतको कामलाई अझै प्रभावकारी बनाउन पनि सरकारलाई टोलीले सचेत गराएको छ। काँग्रेसले स्थानीय र प्रदेश सरकारको नेतृत्वका पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई यस अघि नै भनेको छ।
महामन्त्री थापाले कर्णाली प्रदेश योजना आयोगलाई अहिले तत्कालका लागि विपद् व्यवस्थापनको कामको जिम्मा दिन उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिइएको बताए।
नेपाली कांग्रेले महामन्त्रीद्वय थापा र शर्मा र केन्द्रिय सदस्य डा. गोविन्द पोखरेल नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रको स्थागत अवलोकनका लागि पठाएको थियो। टोलीले प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउने काममा समेत सघाउ पुर्याएको थियो। थाहा खबरबाट