२०८१ फाल्गुन ५ सोमबार

विश्व–शान्तिका लागि महायज्ञ महाअनुष्ठान

पार्थ माण्डल झापा । विश्व कल्याण एवम् संकट निवारण गर्ने उद्देश्यले झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई धाम कोटीहोममा तीनदिने विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठान सुरु भएको छ । .

कनकाई नगरपालिका–४ स्थित माई नदीको किनारमा स्वस्तिक आकृतिभित्र यज्ञ कुण्डसहितका संरचना तयार पारेर बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीले विधिवत् रूपमा पूजाअर्चना गरी महायज्ञ महाअनुष्ठानको शुभारम्भ गरेका हुन्।

विश्वका विभिन्न मुलुकहरूमा भइरहेको हिंसात्मक तथा द्वन्द्व घटना अन्त्यका साथै हालै नेपालमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ॐ आदि फाउन्डेसनले कात्तिक २५ गतेसम्म महायज्ञ महाअनुष्ठानको आयोजना गरेको बताइएको छ।

यस वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना बनाए अनुसार १७ औं महाअनुष्ठानका रूपमा कनकाई धामलाई चयन गरिएको ॐ आदि फाउन्डेसनका अध्यक्ष डा. उपेन्द्र महतोले जानकारी दिए। साथै १८ औं महाअनुष्ठान दुबईमा हुने गरी कार्यक्रम तय भएको उनले बताए।

महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरूले विभिन्न साधनात्मक विधि प्रक्रियाहरूका साथ अखण्ड यज्ञाहुती गरिरहेका छन्। महाअनुष्ठानमा देशका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ।

महायज्ञबाट प्राप्त ऊर्जालाई कनकाई धाम परिसरमा नै उचित व्यवस्थापन गरी यस क्षेत्रलाई दिव्यधामका रूपमा विकास एवम् विस्तार गरिने कार्यक्रमका संयोजक एवम् फाउन्डेसनका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए। कोटीहोम परिसरलाई दिव्यधामको रूपमा विकास गर्ने गुरु आदिचन्द्र योगीको परिकल्पना रहेको उनको भनाइ छ।

माई नदीको किनारमा महाअनुष्ठान सुरु भएसँगै कोटीहोम क्षेत्रमा भक्तजनहरूको चहलपहल बढेको छ। महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक, तान्त्रिक एवं मान्त्रिक हवनसमेत गरिने छ। अग्नि एवं जल कुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तशती चण्डी पाठ र चार वेद अखण्ड पाठपारायण (चार दिशामा) राखिएको छ। फाउन्डेसनका प्रवक्ता डा. राजु अधिकारीका अनुसार दिव्य शिवलिंग एवम् हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवम् विधिवत् अनुष्ठान गरिने बताए।

कनकाई नगरको भूमिलाई पवित्र बनाउने कार्यमा यो महाअनुष्ठानको योगदान हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए। पवित्र कनकाई धाम धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा थप व्यवस्थित बन्नेमा आफू विश्वस्त रहेको भन्दै नगर प्रमुख पोखरेलले भने, ‘यो महान् कार्यलाई उत्कृष्ट बनाउन सिंगो नगरबासीले सक्रियताका साथ लाग्नु पर्ने हुन्छ।’

महाअनुष्ठानको आवश्यक व्यवस्थापनमा महत्वपूर्ण भूमिका नगरपालिकाले निभाएको छ। महाअनुष्ठान अवधिभर आवश्यकता अनुसार स्वयंसेवकको भूमिका निर्वाह गरिने उनले बताए। महाअनुष्ठानको उद्घाटनमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम तय गरिएको थियो। काम विशेषले ओली आउने कार्यक्रम रद्द भएको आयोजक समितिले जनाएको छ।

विश्वमा भइरहेको हिंसात्मक घटना अन्त्यका साथै भूकम्पमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ॐ आदि फाउन्डेसनले महायज्ञ महाअनुष्ठानको आयोजना गरेको बताइएको छ। अन्नपुर्ण पोष्ट

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित 0 Minutes 770 Views

ताजा समाचार