झापा । शिवसताक्षीमा फेला परेको शवको पहिचान खुलेको छ । कात्तिक १० गतेबाट हराइरहेका मोरङ बेलबारीका लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो । शवसँगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरू नआइपुगेकाले शवको पहिचान प्रस्ट भई नसकेको उनले बताए ।
बिर्तामोडमा रहेका आफन्तहरू आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।
जंगलमा घाँस काट्ने जाने महिलाहरूले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पुरै शरीर सडेको अवस्थामा छ ।
जिल्ला प्रहरीका अनुसार कालो टिसर्ट, कालो जिन्सको पेन्ट, निलो रङ्गको ब्याग फेला परेको छ । ब्यागभित्र गाँजा र मदिरा समेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोबाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।